सप्तरी । देवाही गोनाहीका मेयर प्रेमलाल साह कानुसहित ३ जनालाई नक्कली परीक्षार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ ।
मेयर कानुलाई आफ्नो नाममा अरुलाई एसइई दिन लगाएको आरोपमा पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भए लगत्तै तीनै जना फरार भएका छन्।
पक्राउ पुर्जी लगत्तै मेयर कानुसहित मौलापुर नगरपालिका–५ स्थित लक्ष्मीनिया मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष तेजनारायण साह र कुञ्जन साह फरार भएका छन्। तीनैजना अदालतले पक्राउ पुर्जी जारी गरेको दिनदेखि नै फरार भएको रौतहटका एसपी वीरबहादुर बुढामगरले जानकारी दिनुभएको छ । एसपी बुढामगरका अनुसामर उनीहरुको खोजी भइरहेको छ ।
‘अदालतबाट पक्राउ पुर्जी जारी भएकै दिनदेखि मेयर कानुसहित तीनै जना फरार हुनुभएको छ,’ उहाँ भन्नुभयो, ‘हामीले खोजी गर्न प्रहरी परिचालन गरेका छौँ। देशभरिकै प्रहरी चौकीमा पनि खबर भएको छ।’
देशभर जारी एसइई परीक्षाअन्तर्गत गएको चैत १९ गते आइतबार भएको गणित विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी गरूडा नगरपालिका–६ पोठियाहीका कमल साहलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका साहको प्रवेश पत्रमा प्रेमलाल साह कानुको नाम थियो।
कमललाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा देवाही गोनाही नगरपालिकाका मेयर कानुले नै आफ्नो नाममा परीक्षा दिन लगाएको खुलेको थियो।
प्रवेशपत्रमा रहेको नामको तीन पुस्तेको आधारमा मेयर कानुको नाम नै आएपछि प्रहरीले मुद्दा दर्ता गरेको थियो। त्यही मुद्दामा मेयर कानुसहित मौलापुर नगरपालिका–५ स्थित लक्ष्मीनियाँ माविका केन्द्राध्यक्ष साह र अनुसन्धानको क्रममा नक्कली परिक्षार्थी प्रकरणमा नाम खुल्न आएका कुञ्जन साहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुवैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।