पाेखरा । आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ को नारासहित आलु र तरकारी उत्पादनमा देशमै अग्रणी हेमजामा ११औँ संस्करणको सो महोत्सव गरिएको हो । हेमजाले पोखरा बजारलाई २५ देखि ३० प्रतिशत ताजा तरकारी आपूर्तिमा योगदान गरेको छ ।
महोत्सवको मुख्य आकर्षणमा आलुको पहाड निर्माण गरिएको छ । स्थानीय कृषकबाट सङ्कलित ३५ टन आलुबाट पहाड निर्माण गरिएको आलु सङ्कलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले बताउनुभयो । आलुको पहाडबाटै आलु निकालेर बिक्री गरिन्छ भने बिक्री गर्दा घटेको आलु थपेर अन्तिम दिनसम्म आलुको पहाड कायम राखिने आयोजकले जनाएको छ ।
आलुको पहाडले मेलामा सहभागी दर्शकलाई आकर्षित गरेको छ । पहाडअघि तस्बिर लिनेको भीड बढेको तिमिल्सिनाले बताउनुभयो । मेलास्थलबाटै आलु खरिद गर्नेको बाक्लो उपस्थिति छ । महोत्सवस्थलबाट प्रतिकिलो रु ३५ मा आलुको बिक्री वितरण गरिएको छ । महोत्सवमा करिब ४० टन आलु बिक्री हुने अपेक्षा गरिएको छ । महोत्सवमा कूल एक सय २० वटा स्टल रहेकोमा करिब २५ प्रतिशत कृषि स्टल छन् । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउनुभयो ।
नेपालमा कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा उहाँको जोड छ । “कृषि नीति सुधार्ने तयारीमा छ । आगामी बजेट किसानमुखी बनाउने गरी काम गरिरहेका छौँ ”, गुरुङले भन्नुभयो । प्रदेशसभा सदस्य गणेशमान गुरुङले कृषि कर्म गर्दा खुसी हुने संस्कारको सुरुआत गर्नुपर्ने बताउनुभयो । कृषि पेशालाई प्रविधिमैत्री बनाउन उहाँले आग्रह गर्नुभयो ।
कृषि मन्त्रालयका सचिव डा सहदेवप्रसाद हुमागाईंले हेमजा र आलु पर्याय जस्तै भएको बताउँदै महोत्सवले बजारीकरणमा सहयोग पुगेको बताउनुभयो । विज्ञ श्यामप्रसाद ढकालले हेमजावासीलाई नियमित खाने र उद्योगसँग जोड्ने गरी आलुको उत्पादनमा लाग्न सुझाव दिनुभयो । महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निदान गरिनेछ ।
यसैगरी कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कारलगायत कार्यक्रम हुने आयोजक संस्थाका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यावसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न समूहमा व्यावसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लब भवन, तरकारी सङ्कलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्नेलगायत उद्देश्य पनि राखिएको छ । कोरोना भाइसरका कारण विगत तीन वर्षसम्म हुन नसकेको महोत्सवलाई यस वर्षदेखि क्लबले निरन्तरता दिएको हो । महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।