काठमाडौं । बैतडी र सिन्धुलीमा सवारी दुर्घटना हुँदा १० जनाले जीवन गुमाएका छन् ।
बैतडीकको खोड्पेदेखि बझाङतर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति साढे ११ बजे
पाटन नगरपालिकाको वडा नम्बर ८ को झाउलेकमा दुर्घटना भएको हो । दुर्घटनामा एउटै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा यात्रारत ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभएको छ । मृतक सबै एकै गाउँका हुन् ।
प्रहरी निरीक्षक खत्रीका अनुसार जिपमा १२ जना सवार थिए । तीमध्ये चालकसहित ५ जनाले जिप सडकबाट खस्न लागेपछि हामफालेर ज्यान जोगाएका हुन् । चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले बताउनु भयो । जिप दुर्घटनाको कारण भने खुलेको छैन ।
मंगरबार राति नै बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जनाले जीवन गुमाएका छन् । भारतीय नम्बरप्लेटको बीआर६ डिडी ६८७ नम्बरको कार कमलामाई नगरपालिका–३ गढीगेट नजिक मंगरबार राति १२ बजे दुर्घटना भएको हो । दुर्घटनामा ४ जना भारतीय नागरिकको मृत्यु भएको सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभएको छ ।
डिएसपी दाहालका अनुसार ३ जनाको घटनास्थलमा र १ जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो । मृतक चारै जना पुरुष छन् ।
दुर्घटनामा एक पुरुष घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल पठाइएको डीएसपी दाहालले बताउनुभयो ।