काठमाडौं । सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय समिति बैठक आज बस्दैछ । सांसद श्रेष्ठबारे निर्णय गर्न रास्वपा बैठक दिउँसो २ बजे बस्ने भएको छ ।
रास्वपाले बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजे लागि सारेको छ । महामन्त्री डा मुकुल ढकालले सभापति रविलामिछानेसहित केही केन्द्रीय सदस्य उपत्यका बाहिर रहेकाले बैठक केही घण्टाको लागि सारिएको जानकारी दिनुभएको छ
‘केन्द्रीय सदस्यहरू उपत्यका बाहिर पनि रहेकोले केही समय बैठक सारिएको हो, अरू कुनै कारण छैन,’ उहाँले भन्नुभयो ।
रास्वपाका सभापति रवि लामिछाने र अधिकांश केन्द्रीय सदस्यहरू उपनिर्वाचन प्रचारप्रसारका लागि तनहुँ, चितवन र बारामा भएकोले काठमाडौं आइपुग्न समय लाग्ने भएको हो।
मेडिकल व्यवसायी दुर्गा प्रसाइँसग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएवपछि सांसद श्रेष्ठसंग रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समितिले मंगलबार बयान लिएरको थियो । सांसद श्रेष्ठसँगको बयानपछिअनुशासनले छानविन प्रतिवेदन पार्टीको केन्द्रीय समितिलाई बुझाइसकेको छ ।
आज बस्ने रास्वपा केन्द्रीय समिति बैठकले अनुशासन तथा आचरण समितिको प्रतिवेदनको आधारमा सांसद श्रेष्ठबारे निर्णय गर्नेछ । अनुशासन समितिका एक सदस्यका अनुसार सांसद श्रेष्ठलाई रास्वपाको केन्द्रीय समितिले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गर्ने सम्भावना छ ।
सांसद श्रेष्ठको अडियो प्रकरणले अहिले रास्वपाको नेतृत्वप्रति नै सर्वत्र आलोचना र अनेक खालका टिकाटिप्पणी भइरहेका छन् । अडियो सांसद श्रेष्ठले २ करोड पार्टीको कोर टीमलाई बुझाउने भन्नेपछि रास्वपा नेतृत्वमाथि प्रहार हुन थालेको हो ।
उपनिर्वाचनको पूर्व सन्ध्यामा पार्टी नेतृत्वमाथि नै प्रहार हुन थालेपछि सभापति रवि लामिछानेले श्रेष्ठको अडियो प्रकरणमा दोषीलाई त्यसै नछोड्ने दृढता व्यक्त गर्नुभएको छ । सभापति लामिछाने यसरी प्रकरणलाई लिएर केही दिनअघि दोषीलाई कारबाही गर्न नसके आफूलाई गढिमाईको मेला बलिदिए हुन्छ
भन्दै उत्तेजक अभिव्यक्ति समेत दिनुभएको थियो । लामिछानेको यो अभिव्यक्तिपछि रास्वपाको आज बस्ने केन्द्रीय समिति बैठकले सांसद श्रेष्ठलाई पार्टीबाट हटाउन सक्ने बिश्लेषकहरुको अनुमान छ ।
तर सांसद श्रेष्ठले भने अडियोको स्वर आफ्नो नभएको भन्दै प्रकरणमा निर्दोष सावित गर्न खोज्नु भएको छ । श्रेष्ठले अडियो प्रकरणमा रास्वपाद नेतृत्वलाई आफूमाथि कारबाही भए कोर टीमबारे पर्दाफास गर्ने चेतावनी समेत दिइरहनुभएको स्रोतको भनाई छ । अडियो प्रकरणले राजनीतिक वृतमा अहिले रास्वपामाथि भइरहेको प्रहार तथा आलोचना र सांसद श्रेष्ठको चेतावनीले निर्णय जटिल बनेको रास्वपाका एक केन्द्रीय सदस्यले बताउनुभयो ।