काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रको अध्यक्ष समेत रहनुभएका दाहालले शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट संविधानमै उल्लेख भइसकेका र आत्मसात् गरिसकेका प्रावधानहरु अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताउनुभयो
प्रधानमन्त्रीले केही पक्षले परिवर्तनलाई विचलनमा लैजाने प्रयास गरिरहेको भन्दै त्यसप्रति सजग रहन कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । ‘अहिले हामी सरकारको नेतृत्वमा छौं, मन्त्री छौं, प्रधानमन्त्री छौं, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ’ उहाँले भन्नुभयो— मैले सबै कमरेडहरुलाई बुझिने गरी भन्न चाहन्छु, यो स्थिति सहज छैन। हामीले बुद्धि नपुर्याउने, जिम्मेवारीबोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ । त्यसकारण पनि पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन जरूरी छ। सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौती छ। त्यसैले योजनावद्ध गर्ने कुरा सोचिएको हो। यसलाई कार्यान्वयन गर्दै जानुपर्छ।
प्रधानमन्त्रीले सरकारलाई जनमुखी बनाउन र जनताको आशा अनुसार काम गर्न चुनौति रहेको तर त्यसको सामना गर्दै योजना कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
‘अब नेताहरूको समर्थन लिएर नेताको सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्छ’ उहाँले भन्नुभयो– नेतृत्वलाई प्रेसर गर्ने, त्यसपछि हामी पनि त्यस्तै भइयो। यसले पार्टी बनेन। जनतातिर गएन, पार्टी तल गएन, माथि फर्कियो, यसले पार्टी जनताबाट कट्यो। कार्यकर्ताको मन जित्ने नै नेता हुने प्रणालीतिर जानुपर्छ ।’