–रम्भा पौडेल
कुनै पनि बस्तु जति सरल हुन्छ त्यति नै कठोर पनि हुन सक्छ । पानी शब्द नै सरल शितल । दुनियाँको प्यास मेटाउने, आगो निभाउने, मनको जलन हटाउने, सम्पूर्ण प्राणीको प्राण धान्ने आधार, बोटविरुवाको बाँच्ने आधार, अन्न उत्पादनको आधार, धुप सान्त पार्ने आधार, समग्रमा सबै जलनको शितलताको आधार पानी । जति शितल छ पानी,उत्ति नै यसका बिद्राेहका रुपहरु पनि छन् । त्यही शितल पानीले ठुला पहरालाई खसाउँछ । घरलाई बगाउँछ तराइलाई डुबाउँछ ।सुनामी बनेर आउँछ । त्यसैले पानीलाई पानी त हो भन्ने नठान्नुस् है ।्र
कवयत्री प्रतिमा केसीको पहिलो कविता संग्रह ‘पानीको विद्रोह’ मा संकलित उनन्पचासवटा कवितामा व्यक्त भावनाहरूको सारांशलाई माथि लेखिएका केही पंक्तिबाट व्यक्त गर्न सकिन्छ । सबैभन्दा नरम ठानिएको बस्तुले पनि जब विद्रोह गर्छ, तब त्यो विद्रोह धेरै भयानक हुन्छ । यसैले कुनै कुरालाई पनि सानो ठान्नु वा हेप्नु हुुँदैन । यही सन्देश कविता संग्रह पानीको विद्रोहले दिएको छ ।
कविता संग्रहको शीर्षक कविता– पानीको विद्रोहमा कवयत्री लेख्छिन्–
महासागर बन्न पानीले कम विद्रोह गरेको होइन,
पानीले पहाडहरु बगाएको हो,
तराई डुबाएको पनि सत्य हो,
जीव–जीवात्माहरूलाई नभई नहुने पानी
मूलबाट बुलबुल निस्किएर
कलकल बग्दै छहरा–छाँगाहरूबाट
सुसाउँदै खोलाहरूमा बगिरहेको पानी
बेलाबेलामा विवेकहिन भइ बौलाउँछ
हामीलाई त्राहीमाम बनाउँछ ।”
विदेशमा गएर पैसा धेरै कमाउन सकिन्छ । त्यहाँ आनन्द र सुख छ भन्ने सोँचेर आजका युवाहरु विदेशै जान चाहन्छन्। अनेकौं रंगीन सपना साँचेर विकसित देशमा पुगेका नेपाली बिस्तारै आफ्नो परिचय गुमेको पीडाले छट्पटिन थाल्छन् । आफूमाथि हुने विभेदबाट अतालिएर उनीहरुलाई देशको सम्झनाले पिरोलिन्छन् । यही भाव परदेशमा देश दुख्दो रहेछ मा देखिन्छ । ‘परदेशमा देश दुख्दो रहेछ’ भन्ने शीर्षकको कवितामा लेखिएको छ–
“समस्याका भूमरीहरूमा,
घुम्दै मडारिँदै जाँदा
देशका सीमाना पारी,
धेरै टाढा टाढा
कपालको रंगको आधारमा
नाकको बनावटको आधारमा
बोलिने भाषाको आधारमा...
बेग्लाबेग्लै लाइन, बेग्लाबेग्लै ब्यवहार
बेहोर्नु पर्दा
देश त विदेशमा पो दुख्दो रहेछ,”
मानिस प्रकृतिकै अंग हो । मानव जीवनमा जतिसुकै बनाबटी कुरा भरिए पनि मनमा पीर परेको बेला मानिस प्रकृतिकै शरणमा पुग्छ, प्रकृतिसंग एकाकार हुन्छ । ‘आकाश रोएको बेला’ शीर्षकको कवितामा लेखिएको छ–
“म रुन बिर्सेको समयमा पनि
मेरो सट्टामा रोइदिन्छ,
जब उ रुन्छ म पनि जरुर रोइदिन्छु,
हो, यस्तै यस्तै भइरहन्छ
आकाश रोएको बेला
पानी परेको बेला ।”
कविता संग्रहमा प्रगतिशील वैचारिक भाप देखिन्छ । कवयत्रीले आफ्नो वैचारिक स्पष्टता देखाउँदै ‘बहिनीलाई चिठी’ शीर्षकको कवितामा लेख्नुभएको छ–
“प्रिय बहिनी
आज नारी दिवस हो
संसारभरिका श्रमिक महिलाहरू
हक–अधिकारका लागि संगठित भएको दिन
जर्मन महिला क्लारा जेटकिनको पहलमा
विसौं शताब्दीबाट शुरु गरिए पनि
हामी अझै दोश्रो दर्जामा उभिन बाध्य छौं”
कविता संग्रहमा देशको माया छचल्किएको छ । ‘त्यसैले उ नेपाली हो’ शीर्षकको कवितामा लेखिएको छ–
“उ झिसमिसेमा उठ्छ हरेक दिन
दिनभरिको सामलतामल जुटाउँछ
पोको पार्छ, झोला बोक्छ
यसो गर्नु उसको दिनचर्या हो
यसै दिनचर्या भित्र
सपनाको क्यानभासमा
नेपालको नक्शा कोर्छ
आफ्नो वस्तिमा चिन्ह लगाउँछ ...
उसको तन र मन रापिँदै जाँदा
जन्मभूमिको महत्व खारिँदै जान्छ
भाषा खोज्छ, भेष खोज्छ
जन्मदिने देश खोज्छ ।”
‘नेपाल भएर बाँच्न देउ’ शीर्षकको कवितामा लेखिएको छ–
“बुद्धको जन्मभूमिमा
म आफू आफै भएर बाँच्छु
म पहाडजस्तै उभिएर बाँच्छु
आफ्नै अस्तित्वमा आफ्नै ढंगमा
नेपाल भएर बाँच्न देउ
कृपया यतिमात्र भए पुग्छ
नेपाल भएर बाँच्न देउ ।”
अहिले पाठशालाहरूले मानवता र जीवन पढाउन छाडेका छन् । त्यहाँ मानवता पढाइदैन, जीवनको दौडमा कसरी अगाडि पुग्ने भन्ने यान्त्रिक शिक्षा दिइन्छ । जीवनमूल्य हराएको आजको पूँजीवादी शिक्षाबारे ‘पाठशाला’ कवितामा कवयत्री लेख्नु हुन्छ–
“जीवनभर अहंकारको खोल ओढेर
कमाएको सबै सम्पत्ति र आफन्त छोडेर
केवल एक्लै महाप्रस्थान गर्छौं
साँच्चै हामीले किन बिर्सन्छौं हँ ?
जन्म र मृत्युबीचको समयलाई
जीवनको उत्सव मनाउन
हरेक दिनको खुशी मनाउन
हो साँच्चै बिर्सेका छौं
हामीले बाँचिरहेको, पढिरहेको
जीवनको पाठशाला !”
संसारको सवै भन्दा प्रिय शब्द आमा हो । हरेक सन्तानले आफनो आमाको साथमा सुरक्षित महसुस गर्छ । चाहे चराको होस् चाहे हाँस र कुखुराको होस् या हात्तीको होस् । सबैका आमा छन् । ती सबैले आफना सन्तानलाई पालन पोषण गर्दछन् र दुष्टहरुबाट बचाउँछन् । तर आमा नहुनेहरु सधैँ अभाव र असुरक्षित महसुस गर्छन् । कवयत्री आमा दिवस कवितामा लेख्नहुन्छ —
थाहा छ मलाई उनी फर्केर आउदिनन्
पल्लो रुखका गुडका माउहरु
चारो लिएर फर्किन्छन् खुवाउँछिन्
बचेराहरुलाई उडन सिकाउँछिन्
म भने असुरक्षित गुँडमा चारोको मृगतृष्णा बुकाइरहेथे ।
कविता संग्रहमा कवयत्री प्रतिमाले आफना मनका भोगाइहरु प्रस्तुत गर्नुभएको छ । कथा कविता, उपन्यास सबै साहित्यिक विधाहरुले समाज र मानिसका आफ्नै र अरुले भोगेका भोगाइलाई नै उजागर गर्दछ । यस कविता संग्रहमा पनि कवयत्री प्रतिमाका आफना भोगाइहरु बाहिर आएका छन् । चाहे ति महिला भएकै कारणले भोगिने भोगाइ हुन् या शितल र शान्त स्वभावका कारण च्यापिने भोगाइहरु हुन् या विदेसिनुका पीडाका भोगाइहरु हुन् ,ति सबै कविताका भावमा बाहिर आएका छन् । दु:ख ब्यथा र भोगाइहरु, सघर्ष र क्रान्तिका आवाजलाई कविताले बोलेको छ । कवितामा नारी स्वरहरु प्रवल भएर अगाडि आएका छन् । प्रतिमा जीको साहित्यिक यात्रा अझ प्रवल भएर अगाडि बढोस् । शुभकामना ।।
लेखिका– प्रतिमा के.सी.
(हाल बेलायत)
प्रकाशक तथा वितरक
जनता प्रकाशन, काठमाडौं ।