काठमाडौं । प्रमुख राजनीतिक दलबीच सहमति नजुट्दा ‘छिट्टै टुंग्याउने’ भनिएको संक्रमणकालीन न्यायनिरुपण ‘पेन्डुलम’ भएको छ ।
संक्रमणकालीन न्यायनिरुपण सम्बन्धी कानुनलाई अन्तिम रुप दिन लागि बोलाइएको आइतबारको बैठक औचित्यहीन बनेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि संक्रमणकालीन न्यायनिरुपण अन्यौल बनेको हो ।
विभिन्न कारणले लामो समयदेखि अल्झिरहेको संक्रमणकालीन न्यायनिरुपण सम्बन्धी कानुनलाई अन्तिप दिन सभामुखले बोलाउनुभएको प्रमुख दलका शीर्ष नेताहरुको आइतबारको बैठकमा प्रधानमन्त्री र कांग्रेस सभापति देउवा नै अनुपस्थित हुनुभएको छ ।
सभामुख देवराज घिमिरेले केहीदिन अघिदेखि संक्रमणकालीन न्यायसम्बन्धी कानुन, संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायत विषयमा सहमति जुटाउन सत्ता र प्रतिपक्षका शीर्ष नेताबीच संवाद गराइरहनु भएको छ ।
सत्ता र प्रतिपक्ष शीर्ष नेताको बैठक पहिलो दिन सभामुख कार्यालयबाटै शुरु गरिएको थियो । सभामुख घिमिरेले चैत २५ गते सिंहदरवारमा र २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच छलफल गराइसक्नुभएको छ । त्यही क्रममा सत्ता र प्रतिपक्ष शीर्ष नेताको बैठक आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा तय गरिएको थियो । बिहान ९ बजेको लागि बोलाइएको बैठकमा प्रधानमन्त्री र कांग्रेस सभापति देउवा नै उपस्थित हुनुभएन । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली निवास बालकोट जान नचाहेर बैठक औचित्यहीन बनेको हो । प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवालाई ‘हिजो हुन्छ आउँला त भनिहालियो तर बालकोट ओली कहाँ नबसौँ’ भनेर उहाँलाई समेत रोक्नुभएकाो स्रोतको भनाई छ ।
सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्री र कांग्रेस सभापति देउवासँगको सल्लाह अनुसार नै बालकोटमा बैठक राखिएको हो । प्रधानमन्त्रीले बिहानसम्म बैठकमा आउने बताए पनि अन्तिममा ‘कार्यव्यस्तताको कारण नभ्याउने’ भन्दै अनुपस्थित हुनुभएको हो ।
एमालेका सचेतक महेश बर्तौलाले प्रचण्डले कार्यव्यस्तता भन्दै बालकोटमा हुने बैठकमा सहभागी हुन नमानेको बताउनु भएको छ । ‘शीर्ष तहमै पहिले नै बालकोटमा बस्ने सहमति भएको थियो’ उहाँले भन्नुभयो– त्यहीअनुसार प्रधानमन्त्री र सभामुखको सल्लाहमा बैठक बोलाइएको थियो । तर प्रधानमन्त्रीले बैठकमा आउने अस्वीकार गरेपछि शंका गर्ने वातावरण बनेको छ।’
बैठकमा प्रधानमन्त्री र देउवा दुवैजना अनुपस्थित हुँदा संसदमा विचाराधीन विधेयक र संयुक्त समिति निर्माण लगायत विषयमा छलफल रोकिएको छ।
यसअघि सभामुख घिमिरेको आहवानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको थियो। शुक्रबारको बैठक स्थगित भएपछि शीर्ष नेताहरु आइतबार बालकोटमा जुट्ने सहमति भएको भएको थियो ।
तर प्रधानमन्त्री बालकोट जान तयार नभएपछि अब अर्को बैठक मंगलबार बस्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ।