काठमाडौं । धन दौलत र प्रशासनको उच्च पहुँचले कति फरक पार्छ राजनीतिमा ? भन्ने तथ्य सुदूरपश्चिमको एउटा सम्मेलनले पुष्टि गरेको छ ।
धनगढीमा भएको मानसखण्ड सम्मेलनमा रोचक दृष्य देखिएको छ। सम्मेलन समापन कार्यक्रमको अतिथि वरियदामा प्रतिनिधिसभा सदस्य डा आरजू राणा देउवालाई मुख्यमन्त्री भन्दा माथि राखिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयले प्रदेश सरकार र विभिन्न संघ संस्थासँगको समन्वयमा आयोजना गरिएको सम्मेलनमा सांसद राणालाई प्रमुख अतिथी र मुख्यमन्त्री कमलबहादुर शाहलाई अतिथी बनाइएको हो ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी राणालाई प्रमुख अतिथीको रुपमा विराजमान गराइएको त्यो कार्यक्रममा भारतीय जनता पार्टी(भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालाई समेत विशिष्ट अतिथि बनाएको थियो । कार्यक्रममा मुख्यमन्त्री शाहलाई कांग्रेस केन्द्रीय सदस्य राणा र चौथाइवा भन्दा तल राखिएको हो ।
नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा मुख्यमन्त्री ८ औँ र प्रतिनिधिसभा सदस्यलाई १० औँ स्थानमा राखिएको छ । विश्वविद्यालयको आयोजना र अन्तर्राष्ट्रिय सहयोग परिषद्सहितका संघसंस्थाको समन्वयमा सञ्चालन भएको यो सम्मेलनमा सञ्चालक उपप्राध्यापक डा दिपकचन्द्र भट्टले मर्यादाक्रमबारे ध्यानाकर्षण गराउनु भएको थियो । तर सरकारको मर्यादाक्रमले कुनै फरक नपर्ने भन्दै सांसद राणालाई मुख्यमन्त्री शाह भन्दा माथि राखिएको हो ।
सरकारको मर्यादाक्रमले फरक नपर्ने भनिएपछि कार्यक्रम संचालक भट्टले विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा।अम्मराज जोशीले अध्यक्षता गरिरहेको समापन समारोहमा राणालाई प्रमुखअतिथी, चौथाइवालाई विशिष्ट अतिथी र मुख्यमन्त्री‘ शाहलाई अतिथीको रुपमा आसनग्रहण गराउनु भएको भएको हो । तपाईंले राख्नुभएको जिज्ञासाबारे यो कार्यक्रम हुुनुभन्दा अघिदेखि कुरा उठिरहेको थियो । मैले पनि सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि सरकारले निर्धारण गरेको मर्यादाक्रमबारे स्मरण गराएको थिएँ,’ भट्टले भन्नुभयो– ‘यो किन भयो थाहा छैन । उपकुलपतिज्यूलाई बुझ्दा स्पष्ट होला ।’
यसबारे उपकुलपति प्राध्यापक जोशीसँग बुझ्दा औपचारिक कार्यक्रममा सरकारले निर्धारण गरेको मर्यादाक्रम मिचिएको विषयमा प्रष्ट जवाफ दिनुभएन तर मुख्यमन्त्रीको मर्यादाक्रम माथि हुनेमा दुई मत भने नभएको बताउनुभयो ।
‘मर्यादाक्रममा प्रतिनिधिसभा सदस्यभन्दा मुख्यमन्त्री नै माथि हुन्छन् । त्यो यथावत हुन्छ । औपचारिक कार्यक्रममा पहिले सम्बोधन गर्ने कुरा न हो, उहाँले भन्नुभयो– ‘विदेशी पाहुनाहरुलाई स्थान दिएका हौँ । यसलाई त्यति फलोअप गर्नु पर्दैन ।’