काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसको लागि बसेको संवैधानिक परिषदको बैठक निश्कर्षविहीन भएको छ ।
प्रधानन्यायाधीश नियुक्तिको लागि नेपाल बार एशोसिएशन लगायतका निकायबाट दबाब परेपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान संवैधानिक परिषद बैठक बोलाउनुभएको हो ।
कानुन मन्त्रालयको समेत जिम्मेवारी समालिरहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बैठकमा ‘प्रधानन्यायाधीश नियुक्तिबारे सामान्य छलफल भएको तर कुनै निर्णय नभएको बताउनुभयो । ‘प्रधानन्यायाधीश नियुक्तिबारे सामान्य छलफल भयो र त्यसपछि बैठक स्थगित भयो’ उहाँले भन्नुभयो ।
परिषदका सदस्य राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधबारको बैठक निश्कर्षविहीन रुपमा टुंगिएको बताउनुभयो । बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको उहाँको भनाई छ ।
सर्वोच्च अदालत चोलेन्द्रशमशेर जबराको अवकाशपछि गएको मंसिर देखि प्रधानन्यायाधीश विहीन छ । त्यसपछि सर्वोच्च कायममुकायम प्रधानन्यायाधीशको भरमा चल्दै आएको छ । अहिले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ । ,
संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । बुधबारको प्रधानमन्त्री, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुनमन्त्रीको समेत जिम्मेवारी समाल्नुभएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी हुनुभएको थियो ।
प्रमुख तीन दलका शीर्ष नेताहरुको बालकोटमा बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो । नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायत कानून व्यवसायीले तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिँदै आएका छन् ।