तीर्थ न्यौपाने
काठमाडौं । तनहुँ, चितवन र बारामा आउँदो आइतबार हुन लागेको उपनिर्वाचनमा कहाँ, कसले जित्दा ? यतिखेर सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दलका मुुख्यालयदेखि चिया पसलसम्म अनेक खालका आंकलन र अड्कलबाजी भइरहेका छन् ।
प्रतिनिधिसभा सदस्य रिक्त तनहुँ १, चितवन २ र बारा २ मा आउने आइतबार निर्वाचन हुँदैछ । उपनिर्वाचनमा सत्ता गठबन्धन ३ वटै क्षेत्रमा संयुक्त रुपमा प्रस्तुत भएको छ । सत्ता गठबन्धन तनहुँ १ र चितवन २ मा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन लागि परेको छ । कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई उम्मेदवार बनाएको छ । चितवन २ मा जीतनारायण श्रेष्ठलाई खडा गरेको छ । संसदको ठूलो दल कांग्रेस यी दुई निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई जिताउन तल्लीन छ । यी क्षेत्र कांग्रेसलाई केन्द्रमा सरकारको नेतृत्व गरिरहेको संसदको तेस्रो दल नेकपा माओवादी केन्द्र र संसदमा आकारको हिसाबले सानै भए पनि गठबन्धन टिकाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको नेकपा एकीकृत समाजवादीले साथ दिएको छ । गठबन्धनले बारा २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सघाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २ पटक नै विश्वासको मत दिए पनि सरकार बाहिर रहेको राष्ट्रिय स्वततन्त्र पार्टी (रास्वपा) ३ वटै क्षेत्रमा सत्ता गठबन्धन र प्रतिपक्ष दल एमाले दु्वैलाई चुनौति दिँदै शसक्त रुपमा लागि परेको छ । प्रमुख प्रतिपक्ष अर्थात् संसदको दोस्रो ठूलो दल नेकपा एमाले पनि उपनिर्वाचनमा ३ वटै क्षेत्रमा मंसिर ४ को भन्दा बलियो रूपमा प्रस्तुत भएको छ ।
चितवन २ लाई केलाउँदा
चितवनमा रास्वपाले सभापति रवि लामिछानेलाई नै उम्मेदवार बनाएको छ । लामिछाने मंसिर ४ काे निर्वाचनमा यही क्षेत्रबाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । राजनीतिक सक्रियता र सामाजिक योगदान बिना नै पत्रकारिताबाट चर्चामा आउनु भएका छामिछानेले त्यसबेला निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गर्नुभएको थियो ।
लामिछानेले त्यो बेला ४९ हजार २ सय ६१ मत प्राप्त गर्नुभएको थियो । सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत पाउनु भएको थियो। यहाँ कांग्रेसले अहिले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । जितनारायणलाई पनि अघिल्लो पटकमा जस्तै माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धनको समर्थन र सहयोग छ । मंसिरकाे निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ४९ मत ल्याएर तेस्रो हुनुभएको थियो । २०७४ सालको निर्वाचनमा भने यस क्षेत्रमा उहाँ नै निर्वाचित हुनुभएको थियो ।
एमालेबाट अहिले रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा होमिनुभएको छ ।
मंसिरको निर्वाचनमा शानदारसँग विजयी भएर उपप्रधान तथा गहृमन्त्री समेत बन्ने अवसर पाउनुभएका लामिछानकोे दोहोरो नागरिकता प्रकरणमा सांसद पद गुम्यो । त्यही कारण यस क्षेत्रमा फेरि निर्वाचन हुने अवस्था आएको हो । दोहोरो नागरिकता र राहदानी प्रकरणले रविको छवि पहिला जस्तो सड्लो भने छैन । त्यसपछि चुनावकै मुखमा सार्वजनिक भएको ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणले लामिछानकोे पार्टी रास्वपाकाे विगतमा बढिरहेको जनलहर अहिले भने खस्केको छ । दोहोरो नागरिकता तथा राहदानी र ढाकाकुमार प्रकरणले रास्वपा पहिला जस्तो कन्चन छैन । पार्टी धमिलिनेक्रममा छ । रास्वपाको लागि काठमाडौं निख्खर धमिलो भइसकेको छ तर चितवन भने अहिलेसम्म पूर्ण रुपमा धमिलिइसकेको छैन । त्यही कारण चितवनमा अहिलेसम्म अरु उम्मेदवारको तुलनामा लामिछाने नै बलियो रहेको पर्यवेक्षक तथा स्थानीयहरुको बुझाई छ । "विगतमा जस्तो धैरै अन्तर त नहोला तर यस पटक रविले नै जित्ने देखिन्छ" उनीहरुको भनाई छ ।
तनहुँ १ लाई नियाल्दा
रास्वपाले तनहुँ १ मा निर्वाचनको पूर्व सन्ध्यामा कांग्रेस परित्याग गर्नुभएका डा.स्वर्णिम् वाग्लेलाई उठाएको छ । यस पटक राष्ट्रपति बन्नुभएका रामचन्द्र पौडेल धेरै पटक विजयी हुनुभएको तनहुँ १ कांग्रेसको बलियो क्षेत्र मानिन्छ । पौडेल मंसिरको निर्वाचनमा २५ हजार ३ सय १८ मत ल्याएका प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । त्यसबेला एमालेका उम्मेदवार एकबहादुर राना मगर १९ हजार ९ सय ४३ मतसहित दोस्रो बन्नुभएको थियो ।
स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याउनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका उम्मेदवार विनोद घर्तीले २ हजार ४ सय ८३ मत पाउनुभएको थियो ।
पाैडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हाे । तनहुँ १ मा कांग्रेसले पुरानो विरासत कायम राख्न चाहन्छ । त्यही चाहनासहित गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ। भट्टराई पार्टी संगठनकै आडमा चुनाव जित्ने आशमा हुनुहुन्छ । भट्टराईलाई माओवादी केन्द्र र एकीकृत समाजवादी पनि समर्थन र सहयोग छ । तर तनहुँ १ मा माओवादीको प्रभाव र जनाधार छैन । यस क्षेत्रमा किसान श्रेष्ठको व्यक्तिगत प्रभाव छ तर समाजवादीको पनि संगठनको आधार भने छैन । तनहुँ १ मा "किसान आफै उठ्दा राम्रै मत पाउने तर उहाँले अन्य उम्मेदवारलाई भाेट माग्दा भने त्यति नअाउने" स्थानीयहरूकाे भनाइ छ ।
वाग्ले उम्मेदवार बनेपछि कांग्रेसका अधिकांश सक्रिय कार्यकर्ता नै उहाँकै पछि लागेका छन् । यसअघि रामचन्द्र पौडेललाई समेत टक्कर दिँदै आउनुभएका गोविन्दराज जोशीले अहिले वाग्लेलाई साथ दिनुभएको छ । कुनैबेला कांग्रेसको हस्ती मानिनु हुने पूर्वमन्त्री जोशी केही वर्षदेखि पार्टी बाहिर हुनुहुन्छ । जोशीले वाग्लेलाई साथ दिने योजना बनेपछि कांग्रेसले त्यसलाई तोड्ने प्रयास समेत गरेको थियो । तर सफल भएन । सभापति शेरबहादुर देउवाले विभिन्न माध्यमबाट जोशीलाई कांग्रेसकै पक्षमा लाग्न आग्रह गर्नुभएको थियो । जोशीलाई फकाउन कांग्रेसले उहाँमाथि विगतमा गरेको कारबाही फुकुवा गरेको छ । तर जोशीले ‘आफू अब कांग्रेसमा नफर्कने’ बताउँदै निर्वाचनमा वाग्लेलाई जिताउन कस्सिएर लाग्नुभएको छ । तनहुँको राजनीतिमा लामोसमय पौडेलको झोला बोकेर हिड्नुभएका विश्व बास्तोलासहितका थुप्रै जिल्ला नेता तथा युवाहरुले पनि अहिले वाग्लेलाई साथ दिएका छन् । प्रसार प्रचार अभियानमा अहिलेसम्म देखिएको दृश्य नियाल्दा तनहुँ १ मा वाग्लेलाई राम्रै मत आउने अनुमान गर्न सकिन्छ । "कांग्रेसलाई फ्याक बनाएर युवा लहरको आडमा आफूले चुनाव जित्ने" वाग्लेको दाबी छ ।
रास्वापा उम्मेदवार वाग्लेले कांग्रेसको आधा भन्दा बढी मत काट्ने स्थिति बनेपछि तनहुँ १ मा यस पटक एमाले पनि बलियो ढोक्सा थापेको छ । एमालेले बलियो ढोक्साको रुपमा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको हो । मंसिर ४ को निर्वाचनमा काठमाडौं ६ मा दोस्रो हुनुभएका खनाललाई एमालेले यसपटक श्रेणी वृद्धि गराउने आश्वासनसहित तनहुँ पठाएको हो । लामो समयदेखि काठमाडौंमा बसोबास रहे पनि खनालको पुख्यौली थलो भने तनहुँ १ नै हो । खनालको दाइसहित परिवारका अधिकाँश सदस्य तनहुँमा र कांग्रेसमै छन् । त्यहीकारण खनालले पनि कांग्रेसको समेत केही मत तान्ने सम्भावना छ । "वाग्लेको उम्मेदवारीले कांग्रेस मतविभाजन हुने र त्यही दाउमा आफूले चुनाव जित्ने" खनालको दाबी छ । तनहुँ १ मा मंसिरको निर्वाचनमा ६८ हजार १ सय ५८ मत खसेको थियो। अहिले पनि करिब ७० हजार हाराहारीमा मत खस्ने सम्भावना छ ।
यसपटक उपनिर्वाचनमा १८ हजार मत कटाउने उम्मेदवार विजयी हुने सम्भावना देखिन्छ । मंसिरकाे निर्वाचनमा पाैडलले कांग्रेस, माओवादी र एकीकतृ समाजवादीसहितको गठबन्धनमा २५ हजार ३ सय १८ मत ल्याउनुभएको हो । अहिले वाग्लेको उम्मेदवारीको कारण कांग्रेसको मत बाँडिने अवस्था बनेको छ । एमालेले विगतको जोगाउन सक्यो भने खनाल विजयी हुन सक्ने सम्भावना पनि छ ।
पर्यवेक्षक र स्थानीयका अनुसार तनहुँ १ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने स्थिति देखिएको छ । कतिपयले निर्वाचनमा कांग्रेसका भट्टराई र रास्वपाका वाग्लेबीच कडा प्रतिस्र्धा हुने बताइरहेका छन् । तर धैरैले निर्वाचनमा रास्वापाका वाग्ले र एमालेका खनालबीच प्रतिस्पर्धा हुने, कांग्रेसका भट्टराई तेस्रो बन्ने अनुमान समेत गरेका छन् ।
बारा २ मा हेर्दा
तनहुँमा जस्तै उपनिर्वाचनमा बारा २ मा पनि सत्ता गठबन्धन, एमाले र रास्वपाका डा सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । बारा २ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा हुनुहुन्छ । एमालेले पूर्व मन्त्री पुरुषोत्तम पौडेललाई मैदानमा उतारेको छ । रास्वपाले पूर्वडिआईजी रमेश खरेललाई पठाएको छ । जनमत पार्टीले शिवप्रसाद कुशवाहालाई उम्मेदवार बनाएको छ ।
मंसिरको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउतसँग पराजित हुनुभएका यादव प्रतिनिधिसभामा प्रवेश गर्नको लागि बारा २ आउनुभएको हो । यादवलाई राउतले मंसिरको निर्वाचनमा सप्तरी २ मा १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएको थियो ।
राउत ३५ हजार ४२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यादवले १६ हजार ९ सय ६९ मत पाउनुभएको थियो ।संविधानसभाको पहिलो निर्वाचनदेखि तराईमधेसको राजनीतिमा वर्चश्व कायम गर्नुभएका यादवलाई राउतको उदयले भने ठूलै धक्का दिएको छ । राउतको उदयसँगै तराई मधेशको राजनीतिबाट महन्थ ठाकुर, राजेन्द्र महतो र विजयकुमार गछ्छदार लगायतका नेताहरु संसदबाट पाखा लागिसक्नु भएको छ । यद्यपि यादव भने राउत समूहलाई चुनौति दिँद ैफेरि संसदमा आउन खोज्नुभएको छ । त्यस्तै अरु नेतालाई पाखा लगाइसकेको राउत समूहले पनि यादवलाई संसद प्रवेश हुनबाट रोक्न अनेक प्रयत्न गरिरहेको छ ।
बारा २ मा मंसिरको निर्वाचनमा जसपाका रामसहायप्रसाद यादव १३ हजार ८ सय २२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । रामसहायप्रसाद उपराष्ट्रपति बनेपछि यस ठाउँमा उपनिर्वाचन हुन लागेको हो । रामसहायप्रसादले त्यसबेला ३ सय ५४ मतान्तरले विजयी हुनुभएको थियो । उहाँलाई त्यसबेला माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४ सय ६८ टक्कर दिनुभएको थियो । कुशवाहा मंसिरको निर्वाचनपछि माओवादी केन्द्र छोडेर सीके राउत नेर्ततवको जनमत पार्टीमा प्रवेश गर्नुभयो । जनमत पार्टीले अहिले कुशवाहालाई नै उमेदवार बनाएको छ । मंसिरको निर्वाचनमा खरायो चिह्न पाएका स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो हुनुभएको थियो ।
उपनिर्वाचनमा जसपा अध्यक्ष यादवले विगतमा आफ्नो उम्मेदवारले प्राप्त गरेको मतको आधारमा नै जित्ने दाबी गर्नुभएकाे छ । यादवलाई जिताउन सत्ता गठबन्धन समेत सशक्त रुपमा लागि परेको छ ।
उता एमालेले संगठनको आडमा चुनाव जित्ने दाबी गरेको छ । लामो समयदेखि बाराबाटै राजनीतिमा सक्रिय हुँदै आउनुभएका एमाले उम्मेदवार पौडेलले "आफू मतदातासँग भिजेको" बताउँदै चुनाव जिल्ने दाबी गर्नुभएको छ ।
रास्वापाका खरेलले मंसिरमा खरायो पाएको मत तान्ने कोशिस गर्नुभएको छ । खरेल प्रहरी सेवामा हुँदा बारामा लामो समय रहनुभएको थियो । खरेलले आफू प्रहरीमा रहँदा त्यहाँ गरेको कार्य र खरायोको मत तानेर आफूले चुनाव जित्ने दाबी गर्नुभएको छ । उपनिर्वाचनमा अन्य उम्मेदवारकाे तुलना यादव, पाैडेल र खरेल नै बलियो देखिन्छ ।तीनै जनाले चुनाव जित्ने दाबी गरिरहेकै बेला पर्यवेक्षक र स्थानीयले पनि र बारामा त्रिपक्षीय प्रतिस्पर्धा हुने बताएका छन् ।