काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस । नेपालका कम्युनिष्ट पार्टीले विभिन्न कार्यक्रम गरी १५३ औं लेनिन जन्मजयन्ती तथा ७५ औं स्थापना दिवस मनाउँदैछन् । २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको हो । त्यसैलाई आधार मानेर नेपालमा वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउन थालिएको हो ।
संसदको ठूलो कम्युनिष्ट दल नेकपा एमाले विभिन्न कार्यक्रम गरी नेकपा स्थापना दिवस मनाउँदैछ । नेकपा एकीकृत समाजवादीले नेकपा स्थापना दिवसमा देशव्यापी रुपमा मनाउन आह्वान गर्दै विभिन्न कार्यक्रम घोषणा गरेको छ ।
एकीकृत समाजवादीको केही दिनअघि बसेको केन्द्रीय सचिवालय बैठकले नेकपा स्थापना दिवस देशभर विधिवत् रुपमा बनाउने निर्णय गरेको हो । आज देशव्यापी रूपमा नेकपा स्थापना दिवस मनाइने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।
प्रवक्ता खतिवडाका अनुसार त्यसदिन केन्द्रमा एउटा कार्यक्रम हुनेछ, प्रदेश र जिल्लामा पनि आआफ्ना तवरबाट विभिन्न कार्यक्रम हुनेछन्।
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पनि नेकपा स्थापना दिवस मनाएर पुष्पलाललाई सम्झिँदैछ । माओवादी निकट पत्रकारहरुको संस्था प्रेस सेन्टरले आफ्नो स्थापना दिवस नेकपा स्थापना दिवसकै दिन पारेर आज मनाउँदैछ । प्रेस सेन्टरको उपत्यका समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा अहिले बिहान कार्यक्रम गर्दैछ । अन्य कम्युनिष्ट पार्टीले पनि नेकपा दिवस मनाउँदैछन् ।
नेपालका कम्युनिष्टहरु स्थापनाकालदेखि नै राजनीति र समाज परिवर्तनका लागि संर्घषरत छन् । २००७ सालमा मुलुकमा प्रजातन्त्र स्थापना गर्नदेखि २०६२/०६३ सालमा गणतन्त्र ल्याउनसम्म कम्युनिष्टहरुकै महत्वपूर्ण भूमिका छ ।
कम्युनिष्टहरु २००६ सालदेखि नै सत्ता प्राप्तिको उदेश्यसहित संर्घषरत रहेपनि सही बाटो भने जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिवाद गरेर संसदीय प्रणाली स्वीकार गरेपछि मात्रै पहिल्याइएको हो ।
जबजकै मार्गबाट नेपालमा २०५१ साल पुस १३ गते पहिलो पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्यो । मनमोहन अधिकारी पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभयो । तर त्यसको केही वर्षमै मुलुकको ठूलो कम्युनिष्ट पार्टी एमाले विभाजन भयो । एमाले विभाजनसँगै मुलुक सशस्त्र द्वन्द्वमा फस्यो । मुलुकमा राजदरबार हत्याकाण्डसम्मका घटना भए । २०५९ मा एमाले पुन एकीकृत भयो । त्यसपछि सशस्त्र आन्दोलनमा होमिएको माओवादीलाई शान्ति प्रकृयामा ल्याउने वातावरण समेत बन्यो । माओवादी शान्ति प्रकृयामा आएर संसदीय व्यवस्था स्वीकार गरेपछि मुलुककै ठूलो दल बन्यो । तर त्यो लामो समय टिकेन । सत्तामा बसेपछि माओवादी ४ टुक्रामा विभाजित भयो । एउटा ठूलो समूह पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रह्यो । केही समूह मोहन वैद्य, डा बाबसराम भट्टराई र नेत्रविक्रम चन्द विप्लव पक्षमा विभाजित भए । ती समूह पनि अहिले फुट्ने र जुट्ने क्रममै छन् ।
संविधानसभाको पहिलो निर्वाचनमा संसदमा कम्युनिष्टहरुको ७२ प्रतिशत थियो । निर्वाचनपछि मओवादी अध्यक्ष दाहालको नेतृत्वमा एमालेसहितको कम्युनिष्ट सरकार बन्यो । तर पनि कम्युनिष्ट पार्टीहरु आपसमा मिल्न सकेनन् । शान्ति प्रकृयाको संवाहक एमाले र माओवादीबीच खिचातानी भइरह्यो । त्यसको असर तल्ला तहका कार्यकर्ता र समाजमा पर्यो । संसदमा वर्चश्व रहे तापनि एमाले र माओवादीले एकले अर्काको अस्तित्व नस्वीकार्दा संविधान समेत समयमा बन्न सकेन । संविधान बनाउनको लागि दोस्रो पटक निर्वाचन गर्नुपर्यो । कम्युनिष्ट पार्टीहरुबीचको आपसी द्वन्द्वकै कारण दोस्रो पटकको संविधान निर्वाचनमा पूँजीवादीको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस ठूलो दल बन्यो, एमाले दोस्रोमा अडियो र माओवादी तेस्रोमा झर्यो । त्यसपछि कांग्रेस नृेतृत्वको सरकार बन्यो । त्यही सरकारले मुलुकमा संविधान जारी गर्यो । संविधानसभा कम्युनिष्टहरुको एजेण्डा भए तापनि एमाले र माओवादीको आपसी द्वन्द्वले त्यसको श्रेय लिन सकेनन् । संविधानसभाको जस कांग्रेसले लियो । जुन संविधान अहिले पूर्ण कार्यान्वयनको चरणमा छ ।
गणतन्त्र स्थापनाको एक दशकसम्म मुलुकका ठूला कम्युनिष्ट दल एमाले र माओवादीबीच खिचातानी र विभिन्न विषयलाई लिएर एक आपसमा आरोप प्रत्यारोप चलिरह्यो । एकबीचमा दुई पार्टीभित्रका केही नेताहरु भने एमाले र माओवादीबीच एकता गर्नुपर्छ भन्ने अभियानमा लागिरहे । २०७४ सालको विजया दशमीको दिन बल्ल त्यो आकांक्षा पूरा भयो । टीकाको भोलिपल्ट बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी स्थायी समितिको ८२ औं बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा माओवादीसँग तालमेल गर्ने निर्णय गर्यो । एमालेको निर्णय गरेको अर्को दिन ललितपुरमा एमाले र माओवादी नेतृत्वको संयुक्त बैठक भयो । त्यो बैठकले तालमेलको निर्णय एकतासम्म पुग्ने गरी बृहत कार्यक्रम गरी सार्वजनिक गर्ने योजना बनायो । त्यसपछि २०७४ असोज १७ गते मंगलबार राष्टियसभामा आयोजित कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको घोषणा भयो । एकतासम्म पुग्ने गरी गरिएको त्यो घोषणाले नेपालको राजनीतिमा ठूलै तरंग ल्यायो ।
एमाले र माओवादीबीच एकता भएर नेकपा समेत बन्यो । तर त्यो पनि लामो समय टिकेन । अध्यक्ष ओली र दाहालबीच पार्टी नेतृत्वको विषयलाई लिएर उत्पन्न भएको टसल केन्द्रीय सचिवालय, स्थायी समिति हुँदै केन्द्रीय कमिटीसम्म पुग्यो । ओली र दाहालको टक्करकै कारण प्रतिनिधिसभा विघटन हुने अवस्था आयो । प्रतिनिधिसभा विघटनपछि नेकपा पनि विभाजित भयो । नेकपा ओली र दाहाल समूहमा विभाजित भएर आधिकारिकताको लागि दुवै पक्षले दाबी गरिरहेको अवस्थामा सर्वोच्च अदालतले दुई पार्टीलाई अलग बनाइदियो । त्यसपछि एमाले र माओवादी आआफ्नै बाटो लागे । एमालेभित्र प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच मनमुटाव हुन थाल्यो । विगतका गतिविधि र निर्णयप्रति प्रतिशोध राख्दै उच्च नेताहरुमाथि नै अवैधानिक तवरले कारबाहीका निर्णय भए । त्यही कारणले एमाले दोस्रो पटक विभाजन हुन पुग्यो ।
एमाले र माओवादीबीचको चुनावी तालमेल र एकताले मुलुकमा शान्ति र राजनीतिक स्थिरताको सन्देश प्रवाह गरेको थियो । दुई पार्टी एकतासँगै बनेको नेकपाले मुलुकको समृद्धि र समाजवादको संकल्प समेत गरेको थियो । कार्यकर्ता र जनतालाई देखाइएको त्यो समृद्धि र समाजवादको सपना नेकपा विभाजनसँगै तुषारापात भएको छ ।
माओवादी सत्ताकै दाउपेचमा अल्झिरहेको छ । अध्यक्ष दाहाल प्रधानमन्त्रीको एकथान कुर्सीको लागि विगतमा अमेरिकी साम्रराज्यवादी, भारतीय बिस्तारवादी, पूँजीवादी र विदेशीको दलाल ...भन्दै तथानाम गाली गरिएको कांग्रेससँग घाँटी जोड्दै हिड्नुभएको छ । तर उहाँले नेतृत्व गरेको माओवादी केन्द्र भने जस्ता पाता जस्तै खिया लाग्नेक्रममा छ । माओवादी विभिन्न कारणले खिइँदै गइरहेको छ । प्रधानमन्त्री दाहाल कांग्रेससँगको मितेरीले पार्टीको नाम र झण्डा समेत फर्ने मनस्थितिमा पुग्नुभएको बिश्लेष्कहरु बताउँछन् । त्यस्तै एमाले पनि विगतमा जस्तो मजबुद छैन । एमाले अहिलेसम्म तल्लो तप्काको कार्यकर्ताकै भरमा धानिँदै आएता पनि नेतृत्वको गलत निर्णयले सिथिल बनेको छ ।
विगतमा एमालेलाई मजबुद बनाउन उल्लेखनीय योगदान गर्नुभएका माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु अहिले एकीकृत समाजवादी स्थापना गरेर संगठन विस्तारमा लाग्नुभएको छ । वामदेव गौतम बेग्लैअभियान लिएर हिडिरहनुभएको छ ।
नेपालका कम्युनिष्टहरु विभिन्न पटक फुट्दै र जुट्दै आएका छन् । कम्युनिष्ट पार्टी प्रायः सत्तामा जाँदा विभाजित हुने गरेको छ । नेता, कार्यकर्ता र जनमतको हिसाबले नेपालमा कम्युनिष्टहरुकै वर्चश्व छ । तर कम्युनिट पार्टी विभिन्न समूह र टुक्रे अवस्थामा छन् । नेपालका कम्युनिष्ट पार्टीहरुको सिद्धान्त मार्क्स, लेनिन र माओको विचारमा आधारित छन् । पार्टीका सिद्धान्त र दस्तावेजमा केही बुँदा फरक देखिए पनि उनीहरुको मूल उद्देश्य भने एउटै छ, तर बाटो भने फरक छ । मूलउदेश्य एउटै भएपनि नेतृत्वको स्वार्थको कारण बाटो फरक बनाइएको हो ।
विगतमा एउटै छाता ओडेका एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी अहिले त्यसलाई च्यातेर हिडेका छन् । एकताको छाता च्यातिएपछि एमाले अध्यक्ष ओलीको अहंकारको रापले सत्ता बाहिर छटपट्टिएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी भने कांग्रेसको रुखमुनि ओत लाग्न पुगेका छन् । प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालले मक्किएको रुखको हाँगो समाएर बेलाबखत समृद्धि र समाजवादको बाँसुरी बजाउने गर्नुभएको छ । तर रुखको धोन्द्राबाट निकिएको त्यो धुन जनताले सुनेका छैनन् । उहाँहरुले रुखको भाँचिएका हाँगा टेक्दै देशलाई समाजवादसम्म पुर्याउन सक्ने अवस्था देखिँदैन ।