काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहील नापी कार्यालयका अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले आर्थिक प्रभावमा जग्गाको नक्सा परिर्वतन गरेको अभियोगमा नापी कार्यालयका तत्कालीन प्रमुख दुर्गा दास महर्जनसहित ८ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुविरुद्ध ‘कागेश्वरी मनहरा नगरपालिका साविक गोठाटार र साविक मूलपानी गाविस का जग्गा आफ्नो संरक्षणमा रहेको नक्सा परिर्वन गरेको’ अभियोग लगाएको छ ।
अख्तियार प्रवक्ता भोला दाहालका अन्सार उनीहरुविरुद्ध काठमाडौँ विकास प्राधिकरणको सहमति विना स्मार्ट सिटी अन्तर्गत परेको जग्गालाई आफूखुशी जोडी, नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको, अनाधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने जस्ता कार्य भएको अनुसन्धानबाट पुष्टि भएको छ ।
आयोगका अनुसार तत्कालीन प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्वेक्षक रामनारायण यादवले मूलपानी १ को किनं ७०८, ७०९, ६६६ र ८१३ को जग्गामा अनाधिकृत रुपमा कित्ताको आकारप्रकार परिवर्तन गरेको रहस्य खुलेको छ ।
मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवरले नापी कार्यालयबाट लिखत पठाएकोमा क्षेत्रफल बढ कायम गरी पठाउँदा समेत फिल्डमा चेकजाँच नगरी नापी कार्यालयबाट तयार पारिएको परिवर्तित नक्सालाई पूर्णता दिने कार्य गरेको अख्तियारको दाबी छ।
अख्तियारले झापा, कमल गाउँपालिका–२ का योगेन्द्र आचार्य, कागेश्वरी ९ का सिताराम अधिकारी र महानगरपालिका ९ का नविन दाहालले सरकारी जग्गाको कित्ताकाट गर्न सहयोग गरेको भन्दै उनीहरुविरुद्ध पनि मुद्दा दायर गरेको छ।