पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री अधिकारी प्रदेशसभाबाट विश्वासको मतमा बहुमत पुर्याउन नसकेपछि पदमुक्त हुनुभएको हो ।
मुख्यमन्त्री अधिकारीले शनिबारको प्रदेशसभा बैठकमा विश्वासको मत माग्नु भएको थियो । ६० सांसद रहेको गडण्की प्रदेशमा बहुमत पुर्याउन ३१ मत चाहिन्छ तर मुख्यमन्त्री अधिकारले बैठकमा २४ मत मात्रै प्राप्त गर्नुभएको छ । प्रदेशसभामा बहुमत जुटाउन नसकेपछि उहाँ मुख्यमन्त्रीबाट मुक्त हुनुभएको हो । बैठकमा मुख्यमन्त्री अधिकारीले एमाले र राप्रपाका सांसदको मात्रै मत पाउनुभएको हो ।
प्रदेशसभामा विश्वास गुमाएपछि एमाले संसदीय दलका नेता अधिकारीले प्रदेश सरकारको नेतृत्व छोड्नु पर्ने अवस्था आएको हो । अधिकारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बन्नुभएको थियो । केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अधिकारी करिब साढे ३ महिनामा पदमुक्त हुनुपरेको हो ।
मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।
सत्ता सारथि नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता उत्पन्न भएको थियो ।
अधिकारी पदमुक्त भएपछि गण्डकी प्रदेशमा गठन्धनमा रहेका दलहरुबीच मुख्यमन्त्रीको लागि दौडधुप र चलखेल शुरु भएको छ । अधिकारीको बर्हिगमनपछि गण्डकीको मुख्यमन्त्रीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले दाबी गरेको छ । मुख्यमन्त्री चयन प्रकृया भोलि आइतबार हुने भएको छ ।