काठमाडौं। प्रतिनिधिसभा सदस्यको रिक्त स्थानमा आज उपनिर्वाचन हुँदैछ । तनहुँ क्षेत्र नबर १, चितवन २ र बारा २ मा उपनिर्वाचन गरिएको हो । प्रतिनिधिसभा सदस्य चयनको लागि ती क्षेत्रमा आइतबार ७ बजेदेखि मतदान भइरहेको छ ।
मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन शान्तिपूर्ण र धाधलीरहित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गएको मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा तनहुँ. १ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले र बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि ती ठाउँका उपनिर्वाचन गरिएको हो ।
चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले पद खारेज गरिदिएपछि त्यहाँ पनि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको हो । प्रत्यक्ष निर्वाचित सांसद पद रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी प्रावधान छ ।
बिहानदेखि मतदान शुरु भएको तनहुँ १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले लगायतका उम्मेदवारहरु प्रतिस्पर्धाको मैदानमा हुनुहुन्छ ।
बारा २ मा सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायतका उम्मेदवार प्रतिस्पर्धामा उत्रिनुभएको छ ।
चितवन २ मा रास्वपा सभापति रवि लामिछाने, सत्ता गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने लगायत उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।