काठमाडौं । आज भइरहेको उपनिर्वाचनका उम्मेदवारहरुको ढुक्क मत आफ्नै कारणले घटेको छ ।
उपनिर्वाचनका चर्चित उम्मेदवारहरु रवि लामिछाने, डा स्वणिम वाग्ले, उपेन्द्र यादव, रमेश खरेल, सर्वेन्द्र खनाल, रामप्रसाद न्यौपाने र पुरुषोत्तम न्यौपानेको आफ्नै कारणले १, १ मत घटेको हो । उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा मतदाता नामावली नभएको कारण उहाँहरुले ढुक्कसँग पाउने १, १ मत कम हुने अवस्था आएको हो ।
उपनिर्वाचनमा सर्वाधिक चर्चामा रहनुभएका राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले आफूले नै मत दिन पाउनु भएन । लामिछाने चितवन क्षेत्र नम्बर २ को मतदाना नभएको कारण आफूलाई भोट हाल्न नपाउनु भएको छ । उहाँको मतदाता नामावली काठमाडौंमा छ ।
त्यस्तै रास्वपाका अर्का चर्चित उम्मेदवार डा स्वणिम वाग्ले र रमेश खरेलले पनि आफूलाई मत दिन पाउनु भएन । तनहुँ १ मा उम्मेदवार बन्नुभएका वाग्लेको मतदाता नामावली त्यहाँ छैन । बारा २ मा उम्मेदवार बन्नुभएका खरेल पनि त्यहाँ नामावली छैन । त्यस्तै बारा २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई मत दिन पाउनु भएन । बारामा उहाँको मतदाता नामावली छैन ।
नेकपा एमालेका तीनै जना उम्मेदवारले पनि आफूलाई मत दिन पाएनन । एमालेबाट तनहुँ १ मा उम्मेदवार हुनुभएका सर्वेन्द्र खनालको मतदाता नामावली त्यहाँ छैन । उहाँ काठमाडौंको मतदाता हुनुहुन्छ । त्यस्तै चितवन २ मा उम्मेदवार बन्नुभएका रामप्रसाद न्यौपाने पनि आफूलाई भोट हाल्न पाउनु भएन । उहाँको मतदाता नामावली चितवन ३ मा छ । बारा २ मा एमालेबाट उम्मेदवार बन्नुभएका पुरुषोत्तम पौडेलले पनि आफूलाई भोट दिन पाउनु भएन । बाराकै बासिन्दा भए पनि उहाँको मतदाता नामावली त्यो क्षेत्रमा छैन ।
तनहुँ १ र चितवन २ नेपाली कांग्रेसका उम्मेदवारले भने आफूलाई मत हाल्ने अवसर पाउनुभएको छ । कांग्रेसबाट चितवन २ मा उम्मेदवार बन्नुभएका जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गर्नुभएको छ । तनहुँ १ मा कांग्रेसबाट उम्मेदवार बन्नुभएका गोविन्द भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।