तनहुँ । प्रतिनिधिसभा उपनिर्वाचनमा तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्लेको विजयी निश्चित भएको छ । वाग्लेले निकतम् प्रतिद्वन्दीलाई १० हजार भन्दा बढी मतले पछि पार्दै आफ्नो विजयी सुनिश्चित पार्नुभएको हो ।
मतगणनाको पछिल्लो परिणाम अनुसार वाग्लेलाई २२ हजार ८२ मत प्राप्त भइसकेको छ । मतगणना अझै जारी छ । तर जुनसुकै बुथमा पनि अन्य उम्मेदवारको तुलनामा वाग्लेकै मत बढी हुँदै गएको छ ।
पछिल्लो गणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १२ हजार ६ सय ४२ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४ सय ५८ मत ल्याउनुभएको छ । मंगोल नेपाल अर्गनाइजेशनका प्रृमबहादुर थापाले १ सय ३७ मत प्राप्त गर्नुभएको ।
वाग्ले आफू भन्दा १० हजार बढी मतले उकालो लागेपछि कांग्रेस उम्मेदवार गोविन्द भट्टराई हार स्वीकार्दै मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ ।
भट्टराईले सामाजिक सञ्जालमार्फत हार स्वीकार्दै मतदाताप्रति आभार प्रकट गर्नुभएको हो । ‘मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ’ उहाँले फेसबुकमा लेख्नुभएको छ, हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो ।’
भट्टराईको स्टाटस
हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो ।
ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ । यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ ।
मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु ।
चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरें । साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु ।
सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
उही तपाईंको
गोविन्द