काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
आज राष्ट्रियसभामा पेस भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिनुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न सरकारको प्रयासमात्र पर्याप्त नरहेको बताउनुभएको हो ।
“अर्थतन्त्रमा देखिएको समस्या अहिलेको सरकारले वा अघिल्ला सरकारले मात्रै सिर्जना गरेको समस्या होइन । यो परिवेश कसरी विकास भयो र कहाँ-कहाँ सुधारको आवश्यकता छ भनेर हामीले सामूहिक रूपमा समाधानतर्फ जानुपर्छ”, अर्थमन्त्री महतले भन्नुभयो, “अहिलेको आवश्यकता भनेको अर्थतन्त्रलाई गति दिनका लागि सरकार र बाहिर बसेका सबै दलको साझा दृष्टिकोण बन्न जरुरी छ । त्यसमा हामी सहकार्य गरेर अगाडि बढ्नुपर्दछ ।”
अर्थतन्त्र सुधारका लागि सबै दल मिलेर साझा धारणामार्फत अघि बढ्नेबारे नेतृत्व तहमा छलफल अगाडि बढिरहेको पनि उहाँले बताउनुभयो ।
मुलुकको अर्थतन्त्र सम्हाल्नै नसकिने गरी खराब अवस्थामा नपुगिसकेको पनि अर्थमन्त्री महतको दाबी छ । “अर्थतन्त्र एकदमै कहाली लाग्दो अवस्थामा होइन । हामी अर्थतन्त्रलाई सुधारतर्फ उन्मुख गराउन सक्छौँ । अहिले देखिएका समस्यालाई हल गर्न सक्छौँ । त्यसका लागि ठोस प्रतिबद्धता हामीसँग छ । अवश्य पनि समस्याका चाङ छन् । सबै समस्यालाई हटाउन केही समय लाग्छ । केही धैर्यको आवश्यकता पर्छ”, उहाँले भन्नुभयो ।
अहिले अर्थतन्त्रमा देखिएका दबाव र अप्ठ्यारा फुकाउन जरुरी रहेको डा महतको भनाइ छ । अर्थतन्त्रको समस्या अहिलेको वा यसभन्दा अघिको सरकारका कारणले सिर्जना नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । विगतदेखिकै समस्या थुप्रिँदै गएर अहिले विकराल बनेको उहाँको भनाइ छ । “यी एक/दुई वर्षमा आएका समस्या होइनन् । यसको एउटा शृङ्खला छ । त्यसमा समस्या थपिँदै थपिँदै गएर अहिलेको अवस्था आएको हो”, उहाँले भन्नुभयो ।
नेपालको अर्थतन्त्रमा संरचनागत समस्या र शासन प्रणालीको समस्या रहेको उहाँको भनाइ छ । सरकारको तर्फबाट निर्वाह हुनुपर्ने भूमिकामा पनि कमी कमजोरी रहेको अर्थमन्त्री महतले बताउनुभयो । “हाम्रो पुँजीगत खर्चको प्रभावकारिता र विस्तारमा समस्या छ तर तलब भत्ता, सामाजिक सुरक्षालगायतका साधारण खर्चको दायित्व बढिरहेको छ । हरेक सरकारको बेलामा यो थपिँदै गएको छ”, उहाँले भन्नुभयो, “हाम्रा संरचनागत समस्या छन् । हामी ठेक्का लगाइसक्छौँ तर साइट क्लियरेन्स भएको हुँदैन ।”
अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा आजको भोलि नै नतिजा देखाउन नसकिने पनि उहाँको भनाइ छ । तर सरकारले अर्थतन्त्र सुधारका लागि अधिकतम प्रयास गरिरहेको अर्थमन्त्री महतले दाबी गर्नुभयो । “आज बोलेर भोलि चमत्कार हुने कुरा होइन । यसका लागि निरन्तर रूपमा काम गर्नुपर्छ । अर्थमन्त्रीको नाताले म सरकारको तर्फबाट हामी सम्पूर्ण रूपमा इमानदारीपूर्वक आफ्नो क्षमता, योग्यताले भ्याएसम्म देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउँछु”, उहाँले भन्नुभयो ।
कोभिड महामारीको समयमा मौद्रिक नीति खुकुलो बनाउँदा अहिले समस्या देखिएको उहाँको भनाइ छ । पुँजीगत खर्चको समस्या देखिनुमा यस वर्ष भएका चुनाव जिम्मेवार रहेको पनि उहाँको भनाइ छ । त्यस्तै, तरलता अभावका कारण ब्याजदर बढ्नु, पुँजीगत खर्च गर्ने क्षमता बढ्न नसक्नु र आर्थिक वर्षको अन्तमा मात्रै खर्च गर्ने प्रवृत्ति कायमै रहनुजस्ता समस्या रहेको डा महतले बताउनुभयो ।