बुटवल । लुम्बिनीमा गठबन्धनका ८ दलले नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । त्यसको लागि ८ दलले प्रदेश प्रमुख समक्ष आज सांसदहरुको बहुमतसहितको हस्ताक्षर बुझाउँदैछ ।
प्रदेश प्रमु्खले बहुमतको सरकार गठनका लागि आव्हान गरेपछि केन्दीय सत्ता समीकरण अनुसारका ८ दलले कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको हो ।
पुस २७ गते मा संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका नेकपा एमालेका लीला गिरीले वैशाख ११ गते प्रदेशसभामा विश्वासको मत नपाएपछि पदमुक्त हुनुभएको थियो । मुख्यमन्त्री गिरी पदमुक्त भएपछि प्रदेश प्रमुख अमिक शेरचनले फेरि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै नयाँ सरकार गठनको आव्हान गर्नुभएको हो । प्रदेश प्रमुखले बहुमतको सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिनुभएको छ ।
८ दलीय गठबन्धनले प्रदेश प्रमुखले तोक्नुभएको समयसीमाभित्रै दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभामा निर्वाचित चौधरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्न लागेको हो । चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेश गर्न लागेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो , ‘आजै चार बजेभित्र प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउँछौं ।’
नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाका अनुसार चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न ८ दलीय गठबन्धनले ५३ सांसदको हस्ताक्षरसहित दाबी पेश गर्दैछ ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४,४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३, ३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक(एकजना र स्वतन्त्र एक सांसद छन् ।