बुटवल । ८ दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीलाई लुम्बिनीको मुख्यमन्त्री बनाउन दाबी पेश गरेको छ । गठबन्धनले चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिहीबार दाबी पेश गरेको हो ।
दाङ क्षेत्र नम्बर ३ (१ं) प्रदेशसभा सदस्य बन्नुभएका चौधरीलाई मुख्नमन्त्री बनाउन कांग्रेससहित, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नागरिक उन्मुक्ति, जनमत र राष्ट्रिय जनमोर्चा लगायतका दलको समर्थनमा दाबी पेश गरिएको हो ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । चौधरीलाई मुख्यमन्त्री बनाउन कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४,४ जना, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३, ३ जना, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १, १ जना र स्वतन्त्र १ सहित ५३ सांसदको समर्थनसहितको हस्ताक्षर बुझाएको कांग्रेस प्रदेशसभा सदस्य राजु खनालले जानकारी दिनुभएको छ ।
पुस २७ गते मा संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका नेकपा एमालेका लीला गिरीले वैशाख ११ गते प्रदेशसभामा विश्वासको मत नपाएपछि पदमुक्त हुनुभएको थियो । मुख्यमन्त्री गिरी पदमुक्त भएपछि प्रदेश प्रमुख अमिक शेरचनले फेरि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै नयाँ सरकार गठनको आव्हान गर्नुभएको हो । प्रदेश प्रमुखले बहुमतको सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न समयसीमा तोक्नुभएको छ ।