हेटौँडा उपमहानगरपालिकामा ६३ जना बाल श्रमिक रहेको पाइएको छ । उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार पहिलो चरणमा १९ वटै वडामा सङ्कलन गरिएको प्रारम्भिक तथ्याङ्कमा ६३ जना बालबालिकामा श्रममा रहेको पाइएको हो ।
अठार वर्षमुनिका बालबालिकालाई श्रममा लगाइएको कानुनले बन्देज गरेको छ । कूल ६३ जनामा १७ वर्षका १४ जना, १६ वर्षका १३ जना, १५ वर्षका १५ जना, १४ वर्षका १३ जना, १३ वर्षका पाँच जना र १२ वर्षका तीनजना बाल श्रमिक छन् । उनीहरूमध्ये मकवानपुरका ३३ जना, बाहिर जिल्ला २२ र छिमेकी राष्ट्र भारतका सात जना र एक जनाका विवरण नखुलेको प्रमुख लामिछानेले बताउनुभयो ।
उनीहरूमध्ये मोटर ग्यारेजमा काम गर्ने बाल श्रमिक २२ जना, रेस्टुराँ, होटेल र ब्याङ्केटमा १२, यातायात क्षेत्रमा १२, निर्माण ढुवानीमा सातजना, घरायसी काममा तीनजना, कवाडी र फ्याक्ट्रीमा दुई/दुई जना र अन्यमा तीन जना रहेको पाइएको छ ।
तथ्याङ्क सङ्कलनका क्रममा बाल श्रमिकमध्ये ५२ जनाले हाल गरिरहेको कामलाई नै भविष्यको योजना बनाएका छन् भने ६ जनाले पढ्न चाहेको र पाँच जनाले सीप सिक्न चाहेको बताएका थिए । उनीहरूमध्ये २८ जनाले कमाएको पैसा घरमा पठाउने गरेको, १६ जनाले पारिश्रमिक नपाउने, नौ जनाले आफूलाई मात्र खर्च गर्ने गरेको, नौ जनाले कमाइएको प्रयोग नखुलाएको र एक जनाले धुमपान मद्यपानमा खर्चने गरेको जनाएको छ ।