गलेश्वर । आमाबुबाको काखमा लुटपुटिएर बालापनको आनन्द लिनुपर्ने उमेरका ६ वर्षीय निमेश खड्काका आमा कर्तव्य ज्यान मुद्दामा जेलमा र उनका बुबाको जेलमै मृत्यु भएपछि बिचल्लीमा परेका छन् ।
म्याग्दीको बेनी नगरपालिका–९, घतानका ६ वर्षीय अवोध बालक खड्का आमा र बुबाको कर्मको फल भोग्दै बिचल्लीमा परेका हुन् । अवोध बालकको दयनीय अवस्था देख्न नसकेर बेनीका होटल व्यवसायी कृष्णप्रसाद बरुवालले खड्कालाई अस्थायी आश्रयमा दिनुभएको छ ।
जिल्ला अदालत म्याग्दीले निमेशका बुबा उत्तम र आमा मनीषा सुवेदी खड्कालाई आफन्तको मनसायपूर्वक हत्याको कसुरमा दोषी ठहर गरेपछि निमेशकी आमा मनीषा जेल जीवन बिताइरहनु भएको छ भने बुबा उत्तमको जेलमा नै मृत्यु भएको छ ।
आमाबाबुले गरेको गल्तीको सजाय निमेशले पनि केही समय जेलभित्रै बसेर बिताएका थिए । बेनीस्थित शिखर होटेलका सञ्चालक बरुवालले अस्थायी संरक्षण गरेका निमेशले बेलाबेलामा आमासँग बोल्न खोजेपछि कारागार प्रशासनलाई जानकारी गराउने गर्नुभएको छ ।
खाने, खेल्ने र रमाउने उमेरमा निमेश बेसहाराजस्तै भएका छन् । निमेशलाई बरुवालले बेनी कै समता विद्यालयमा पढ्न पठाउनुहुन्छ । “पढाइ राम्रो छ, पढ्न मात्रै खोज्छ, आमा जेलमा परेपछि रेखदेख गर्ने मान्छे घरमा नहुँदा होटल मै राखेको छु”, बरुवालले भन्नुभयो ।
जेलभित्रै रहेकी निमेशकी आमा मनीषाले आफ्नो छोरालाई शिक्षादीक्षाको लागि सहयोग गरिदिन देश विदेशमा रहेका मनकारी व्यक्ति र सङ्घसंस्थासँग अपिल गर्नुभएको छ ।
आफू जेल परेको र बुबाको मृत्यु भएकाले बिचल्लीमा परेको छोराको पालन पोषण कुनै संस्था वा दाताले सहयोग गरिदिए ठूलो गुन मान्ने उहाँले बताउनुभयो । “छोरालाई बाँच्न र पढ्न सघाउनु होला, जेलबाट छुटेपछि जीवन भर तपाईंको सेवा गर्नेछु”, मनीषाले भन्नुभयो ।
विदेशमा छु भन्दै छोरालाई फोन
कर्तव्य वा भवितव्य जुनसुकै प्रकारको अपराधमा लागेका भए पनि आफ्ना सन्तानका लागि आमाको मन वात्सल्यपूर्ण हुन्छ नै । अभिभावकजस्तै खराब भए पनि उसले आफ्ना सन्तान खराब होउन् भन्ने चाहँदैनन् । मनीषाले पनि आफू जेलमा रहेको कुरा छोराले थाहा नपाओस् भनेर विदेशमा छु छोरा भनेर फोन गर्ने गर्नुभएको छ ।
“आमा छोराको फोनमा कुराकानी हुन्छ, छोरालाई विदेशमा छु भन्दै आमाको फोन आउँदा भावुक हुन्छु”, होटल शिखरका सञ्चालक बरुवालले भन्नुभयो । मनीषाले छोरालाई वैदेशिक रोजगारीबाट १० वर्षपछि मात्रै फर्कने बताउने गर्नुभएको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम पुनरावेदन अदालत बागलुङले तोकेको सजाय भुक्तान गरी जेलबाट छुट्ने समयलाई उहाँले विदेशबाट फर्कन्छु भनेर छोरालाई फोनमा बताउने गर्नुभएको छ । छोरा निमेशलाई धेरै धन कमाएपछि मात्रै घर फर्कने भन्दै फोन गर्ने आमा मनीषा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहनु भएको छ । आमा–छोराको मिठो खाने, राम्रो लगाउने अनि धेरै पढ्ने विषयमा भलाकुसारी हुन्छ ।
वडाको पहलमा सहयोग जुटाइँदै
यता बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले आमाबुबाको अपराधको सजाय छोराले भोग्न नहुने भन्दै वडाले संरक्षण गरी सहयोग जुटाउने बताउनुभयो । “अवोध बालक निमेशको भविष्य अँध्यारो भएको छ, सबैको साथ र सहयोगको आवश्यकता छ”, वडा अध्यक्ष केसीले भन्नुभयो ।
उहाँले निमेशको नाममा माछापुच्छ्रे बैकमा खाता खोलिएकाले Nimesh khadka, 0160969886900015 खातामा सहयोग जुटाएर लालनपालन र उच्च शिक्षासम्मको पढाइ पूरा गर्ने बताउनुभयो । सन्तानको सबभन्दा ठूलो खुसी आमा हुने भएकाले आमाको अभाव हुन नदिने गरी उचित संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।