काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा आउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री दाहालले रास्वपाका सभापति रवि लामिछानेसँगको भेटवार्तामा सरकारमा आउन प्रस्ताव गर्नुभएको हो ।
प्रधानमन्त्री दाहाल र रास्वपा लामछानेबीच आइतबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा लामिछानेलाई ‘सरकारमा मिलेर काम गर्न’ प्रस्ताव गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनता समाचारलाई जानकारी दिनुभएको छ । प्रेस सल्लाहकार आचार्यका अनुसार लामिछाने उपनिर्वाचनमा चितवन २ बाट निर्वाचित भए लगत्तै प्रधानमन्त्रीले फोनबाट बधाई दिनुभएको थियो । फोनबाट बधाई दिने क्रममा ‘चिया कफिसहितको भेटघाटको लागि निम्ता समेत दिनुभएको थियो ।
दाहालको चिया निम्ता मान्न लामिछाने आइतबार बिहान प्रधानमन्त्री निवास पुग्नुभएको हो । प्रेस सल्लाहकार आचार्यले उहाँहरुबीच देश विकास र परिवर्तनका विषयमा छलफल भएको बताउनुभयो । ‘भेटघाटमा प्रधानमन्त्रीले उहाँँ सांसदमा पुनः निर्वाचत भएकोमा बधाई दिनुभयो, त्यसपछि उहाँहरुबीच देशको अहिलेको अवस्था, राजनीति, विकास निर्माण, आर्थिक र परिवर्तनका विषयमा सामान्य छलफल भयो’ आचार्यले जनता समाचारसँग भन्नुभयो– प्रधानमन्त्रीले उहाँलाई सरकारमा मिलेर काम गर्न प्रस्ताव गर्नुभएको छ ।’
स्रोतका अनुसार प्रधानमन्त्री दाहालले लामिछाने फेरि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने योजना गर्नुभएको छ । गृह मन्त्रालय रास्वपालाई दिनकै लागि सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्ड हुँदा गृह माओवादी केन्द्रले राखेको हो । अहिले गृहमन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सम्हालिरहनुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री दाहालको ‘पोल्टाको नेता’को रुपमा लिइन्छ । प्रधानमन्त्री दाहालले नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई अवसर दिँदै आफ्नो अनुकूल उपयोग गर्दै आउनुभएको छ । प्रधानमन्त्री दाहालसँग केही वर्ष अघिसम्म रामबहादुर थापा बादल अत्यन्तै निकट र सहयोगी नेताको रुपमा सक्रिय हुनुहुन्थ्यो । नेकपा गठनसँगै थापा केपी शर्मा ओलीतिर लागेपछि दाहालले त्यो ठाउँमा श्रेष्ठलाई राख्नुभएको हो ।
रास्वपाले सरकारलाई समर्थन गरे पनि मन्त्रिमण्डलमा सहभागी हुने, नहुने निर्णय गरिसकेको छैन । यसअघि लामिछााने सांसद पद खारेजीसँगै सत्ता बाहिर बसेको रास्वपा सरकारबाारे निर्णयको संघारमा छ । त्यसका लागि सोमबार रास्वपाको बैठक बस्दैछ । बैठकले गृहसहित केही आकर्षक मन्त्रालय पाए पुनः सरकारमा जाने निर्णय गर्ने सम्भावना छ । सरकार जाने वातावरण बने रास्वपाबाट लामिछानेले नै नेतृत्व गर्नुहुने भएको छ । त्यसको लागि रास्वपाले लामिछानेलाई पुन: संसदीय दलको नेता बनाउने तयारी गरेको छ ।
लामिछानेको सांसद पद गुमेपछि यसअघि श्रममन्त्री रहनुभएका डीपी अर्थाल संसदीय दलको नेता बन्नुभएको थियो । उपनिर्वाचनमा चितवन २ बाट लामिछाने पुन विजयी भएर सांसदको शपथ लिएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिइसक्नुभएको छ । अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिनुभएको हो । सोमबार बस्ने बैठकले लामिछानेलाई संसदीय दलको नेता बनाउने स्रोतले बताएको छ ।