काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी निलम्बनमा पर्न सक्ने देखिएको छ । प्रहरी हत्या प्रकरणमा कोइरीको पद गुम्ने स्थिति देखिएको हो ।
एमालेका कोइररी गएको मंसिरको निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले हराएर प्रतिनिधिसभा सदस्य बन्नुभएको हो ।
कोइरी २३ हजार ४ सय २ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत प्राप्त गर्नुभएको थियो । तर निर्वाचित भएको ५ महिनामै कोइरीको सांसद पद धरापमा परेको छ । २०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको घटनामा कोइरीविरुद्ध कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन छ ।
प्रहरी हत्या प्रकरणमा जिल्ला अदालतले थुनछेक बहसपछि कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । तर त्यसपछि उच्च अदालत जनकपुरधामले २०७७ मंसिर १९ गते फेरि थुनामा राख्न आदेश दिएको थियो । कोइरी उच्च अदालत आदेशपछि फरार रहेको प्रहरीले जनाएको छ । कोइरी प्रहरीको रिपोर्ट अनुसार फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।
कोइरीले फरार अवस्थामै राजनीतिक उच्च पहुँचको आधारमा सांसदको शपथ ग्रहण गर्नुभएको थियो ।प्रतिनिनिधिसभामा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अघिल्लो पटक विश्वासको मत समेत दिनुभएका कोइरी त्यसपछि भने संसद बैठकमा उपस्थित हुनुभएको छैन । सभामुख देवराज घिमिरेका अनुसार कोइरी प्रतिनिधिसभाको अघिल्लो अधिवेशनमा निरन्तर २१ वटा बैठकमा अनुपस्थित हुनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएर करिब भूमिगत जस्तै अवस्थामा रहनुभएका कोइरीलाई पक्राउ गर्न प्रहरी ले संसद सचिवालयसँग सहयोग मागेको छ । प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले दोस्रो पटक प्रहरी प्रधान कार्यालयको पत्र आएको पुष्टि गर्नुभयो । यसअघि प्रहरी प्रधान कार्यालयले पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाएको थियो । त्यो पत्र प्रतिनिधिसभा नियमावली २०७९ बन्नु भन्दमा अगाडि आएकाले नयाँ नियमावली अनुसार स्वीकार गर्न नसकिने संसद सचिवालय र सभामुख को भनाइ सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको हो ।
सांसदहरुले ध्यानाकर्षण गर्दा सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ बनेपछि कुनै पनि सांसद फरार रहेको जानकारी औपचारिक रुपमा कुनै निकायले नगराएको बताउनुभयो । ‘औपचारिक निकायबाट फरार रहेको भनेको अवस्थामा नियमावली आर्कषित हुन्छ । अन्यथा सभामुखले कुनै निर्णय गर्न मिल्दैन’ सभामुखले पत्रकारहरुसँगको भेटमा भन्नुभएको थियो ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नमा सभामुखले यही आशयको जवाफ दिनुभएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको सूचना संघीय संसद सचिवालयमा पुनः पठाएको हो ।
प्रहरी प्रधान कार्यालयका कानुन शाखाका प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले संघीय संसद सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, ‘।।निज लक्ष्मी महतो मुद्दाको पुर्पक्षका लागि थुनामा बसी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा सो कार्य नगरी तारेख गुजारी हालसम्म पनि फरार रहेको तथ्य महोत्तरी जिल्ला अदालतबाट प्राप्त पत्रबाट देखिएको‘ ।’ प्रहरीले पहिलो पटक संघीय संसद सचिवालयलाई लेखेको पत्रमा कोइरी फरार रहेको जानकारी मात्रै थियो । यसपटक फरार रहेको जानकारीका साथै पक्राउ गर्न सहयोगका लागि समेत संसद सचिवालयलाई आग्रह गरिएको छ ।
‘‘निज लक्ष्मी महतो सम्मानित महोत्तरी जिल्ला अदालत जलेश्वरमा हालसम्म पनि हाजिर हुन नआई फरार रहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको भनी जिल्ला प्रहरी कार्यालय महोत्तरीको च। नं ३६१५ मिति २०७९र०९र०७ गतेको पत्र प्राप्त भएको हुँदा २०७७र०८र१९ गते सम्मानित उच्च अदालत जनकपुरबाट भएको आदेश कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक सहयोग गरिदिने व्यवस्था हुन सादर अनुरोध गरिएको छ’ डीआईजी राईले संघीय संसद सचिवालयलाई लेखेको पत्रमा भनिएको छ ।
सांसद निलम्बन हुन सक्ने अवस्था देखिएकाे छ । प्रतिनिधिसभा नियमावली २०७९ मा कुनै पनि सांसद फरार रहेको अवस्थामा निलम्बनमा पर्ने व्यवस्था छ । नियमावलीको नियम २४८ को उपदफा ३ मा भनिएको छ, ‘‘नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’
सभामुख घिमिरेले कोइरी अस्वस्थ रहेको सूचना प्रस्तुत गरेपछि सांसदहरुले विरोध गरेका थिए । त्यसपछि कोइरीको अनुपस्थितिको सूचना हटाएर अरु सांसदको अनुपस्थितिको सूचना मात्रै प्रस्तुत रिएको थियो । त्यसलाई सभाले स्वीकृत गरेको छ । कोइरी फरार रहेको र उहाँलाई पक्राउ गर्नका लागि सहयोग माग गर्दै पत्र आएपछि सभामुख घिमिरेले त्यसबारे अध्ययन गर्नुभएको छ ।