-राममणि पोखरेल
राजमार्गसँग जोडिएको शाखा सडक, पीच उक्किएर खाल्टा खुल्टी परेको छ । बाक्लै चार पाङग्रे, छ पाङग्रे गाडी दौड्छन् । त्यही सडकको माझँमा पर्ने एउटा चल्तीको चोक छ । सडक उत्तर र दक्षिण साना किराना पसल र चिया पसल छन् । साँझमा पुरुषहरू रमाउने दुरुङ पानीका पसल पनि छन् । त्यही चौक नजिकै भनौं थोरै उत्तर पाइला राखे पछि १०/११ घर धुरी छन् मुसहर जातिका । नजिकै बास झ्याङछ ।
आफू घरमा एक्लैजस्तै छु । साना केटाकेटी स्कुल जान्छन् । उनीहरूलाई पकाईबनाई खुवाउनु पर्दछ । श्रीमान् समाज सेवाका काममा बाहिर जान्छन् । महिनामा आधा मात्र उहाँको बास घरमा हुन्छ । बारीमा मकै गोड्ने या कोदालो लगाउने समय भएको छ ।
पानी पर्ने गम्बर गर्दै छ । आकाशमा बादलका पोका लुकामारी खेल्दै छन् । बैशाख महिनाका अन्तिम दिन छन् ।
मकैका बिरुवामा कोदालो लगाउने उद्देश्यले काम गर्ने मानिस खोज्न घडीमा आँखा लगाएर बाटो नाप्दै गाउँँमा पाइला राख्तछु । मुसहरबस्ती पुगेर हाँसिलो मुखाकृति पार्दै सोच्दछु, “के सब छेई, घरमे” –“को को छौ घरमा” ।
एक जना महिला नानी चेपेर भित्रबाट बाहिर दलानमा निस्किइन् । केही बोल्न भ्याएकी थिइनन् उनले । मेरा मुखमा हेरिन् । मैले उनलाई सोधे– “यो घर त सिताई सदाको होइन ।”
हँ यह घर सिताई सदा के छेइ वह अख्नि घरमे नही छेइ । बाहर गेल छेई । (यो घर सिंताई सदाको हो । उनी अहिले घरमा छैनन् । बाहिर गएका छन् । तपाईं उचित बाको घरमा जानोस्, मानिसहरू भेला भएका छन् ।)
आहाँ उचितवाके घर गाउँँ, लोग सब जम्मा छेई ।”
म छिमेकी घर उचितवाकोमा गए । उसकी आमा विरामी भएर आँगनमा सुताएको रहेछ । गाउँँका मान्छे धेरै जम्मा भएका रहेछन् । तिमीहरूले मतिर हेरे । चीरपरिचित मान्छे धेरै देखे ।
घरमा बाक्लै आवतजावत भएको व्यक्ति चुमनाले मेरो शरीर निरीक्षण गर्दै भन्यो “गिरतनी कता हिँड्नुभयो, के काममा हाम्रो गाउँँमा पाइला टेक्नु भयो ?”
मैले उसको अनुहारमा आँखा जोते । आमनेसामने भएर उभिएँ । उसलाई सम्झाउने दृष्टिले भने, “बारीका मकै हुर्किन लागे, पानी पर्ने छाट देखिँदै छ, अहिलेसम्म परिगएको छैन । गोड्ने मान्छे खोज्न आएको । दुई जना मानिसको व्यवस्था गरी देऊ । सम्भव भए आजै नत्र भोलि भए पनि हुन्छ ।”
“भन्नु त भो, तर हेर्नाेस् यो गाउँँका मुसहर त चार दिन कतै काममा जान्दैनन्” चुमानाले हँसिलो मुख पार्दै भन्यो ।
“किन चार दिनसम्म काममा जादैनन् त ?” मैले बुझ्ने उत्सुकता देखाएँ । एक त उचितवाकी आमा विरामी छन् । धामीको घर लानु पर्ने उत्तै गाउँँलेहरू व्यस्त हुन्छन् । चुमनाले गाउँँलेको स्पष्टिकरण दियो ।
“दोस्रो हामी यो गाउँँका सदाहरू सिताई, झँगडु, उचितवा, पल्टा र म समेतले दुई दिन अघि, एक जना ठेकदारको लकडी ट्रकमा लोड, अनलोड गरेर तीन तीन हजार रूपैया पाएका छौँ । घरमा हप्ताको रासन दाल, चामल किनेर राखेका छौ । साँझमा दुरुङ्ग पानी पिउने पैसा पनि छ त, किन काममा जाने, त्यो किनेको सामान सकियोस् न, तव न कमाउन जाने । मरेर लानु के छ र ।” चुमनाले हाँस्दै भन्यो ।
श्रीमानको नाम जान्दिनँ, तर उनको नाम गोनिया हो, उनी यदाकदा मेरा घरमा आउँदछिन्, लहसुन रोप्न, गोड्न सघाउँछिन् ।
उनले मेरा मुखमा हेरेर भनिन् – “घरमे खाएवाला अनाज छि ते छेइ त कथिला काममै जेवै” घरमा खाने अन्न हुँदाहुँदै किन । काममा जाने, अन्न सकिन्छ फेरि कमाउन जाने नि ।”
थप कुराकानी गर्न मन लागेन । अरू गाउँँले व्यक्तिलाई भेट्ने मन पनि भएन । फर्केर सरासर घर आए । झण्डै त्यो गाउँँबाट बीस मिनेटको बाटो नाप्नु पर्दथ्योे घर आउन । सडक नाप्दै गर्दा, मनमा कुरा खेले, आफ्नो घरमा पुराना धान कोठीभरी छन् । एक साल अनाबृष्टि भएर बारीमा उत्पादन नहुँदा पनि घरमा अनिकाल लाग्दैन । तर पनि मन चिन्तित भइरहन्छ । तर काममा दलिएर ल्याएको रकमले एक हप्ता पुग्ने बेसौती अन्न घरमा हुँदा पनि मोरामोरीहरू काममा जान मान्दैनन् । यिनीहरूको बुद्धि कहिले फिर्छ ? वास्तावमा यिनीहरू भविष्यप्रति कहिले सचेत हुन्छन् त ? मेरा दिमागमा यस्तै कुरा सलबलाए ।
यिनीहरूको अन्तर हृदयमा बाहिरी प्रभाव किन पर्न सकेको छैन । अचम्म लाग्यो । घर आए । बारीका मकैका बिरुवा हेरे । खातिर लाग्दा हेरिरहुँ जस्ता बिरुवा छन् । यी मकैका बिरुवा कसरी गोड्ने भनेर खेताला खोज्न कुन गाउँँ जाउँ भनेर छटपट भयो । आपूmले मात्र गोड्न सक्ने हिम्मत थिएन । दोहोर्याएर मुसहर वस्ती जाने जमर्काे गरिन् पनि ।
तीन दिन पछि घरमा झोक्रिएर बसेकी थिए । खोकी लागेर विरामी जस्तै भएकी थिएँ । उचितवा सरासर मेरो घर आयो । आँगनमा उभियो र मकै बारीतिर हेर्दै भन्यो– “ठेक्का भए पनि ज्यालामा भए पनि हामी गोड्दछौ ।”
म खिसिक्क हाँसे । ऊ केही भन्न खोज्दै थियो । अरे, उसैका गाउँँका मुसहरहरू, काँधमा कोदालो राखेर मेरै आँगना आए । मैले हाँस्तै, उनीहरूलाई हेरेर भने “घरको अन्न, कहिले सकियो ?”
उनीहरू केही नबोली र ज्यालाको निधो पनि नगरिकन कोदालो लिएर बारीमा पसे । पाँच जनाले चार घण्टामा बारीको मकै गोडि सिद्धाएर नगद पैसा ज्याला हाता थापेर बाटो लागे ।