काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर गरिएको ठगी प्रकरणले राजनीतिलाई तरंगित पारेको छ । प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायतका नेताहरु तानिने अवस्था आएपछि त्यसबाट राजनीति प्रभावित भएको हो ।
भुटानी शरणार्थी प्रकरणमा प्रहरी पूर्व उपप्रधानमन्त्री रायमाझी र पूर्वमन्त्री खाणसहित १ सय २३ जनालाई छानविन गरिरहेको छ । प्रकरणमा रायमाझीका छोरा सन्दीप, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारामयण पाण्डे, द्नन्द विज्ञको रुपमा चिनिने इन्द्र इन्द्रजित राई, पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाकी सहयोगी केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ परिसकेका छन् ।
शरणार्थी प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले प्रकरणमा संलग्न देखिएका अन्यलाई पनि धमाधम पक्राउ पुर्जी बनाइरहेको छ । शरणार्थी प्रकरणमा आफ्ना नेता तथा कार्यकर्ता पक्राउ पर्न थालेपछि केही पार्टीका शीर्ष नेताहरु त्यसको बचाउमा लाग्नुभएको छ । एमाले र माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेताहरु नै शरणार्थी प्रकरणमा ‘आफ्नो पक्ष जोगाउ’ योजनामा लागेकाे स्राेतले बताएकाे छ ।
शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि छलफल भएको छ । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा छलफल भएको हो । छलफलमा एमाले अध्यक्ष ओलीले शरणार्थीकै विषयमा कुराकानी गरेको प्रधानमन्त्री दाहालले पत्रकारहरुलाई बताउनुभएको छ ।
‘अस्ति पनि उहाँको कन्सर्न थियो यही विषयमा । आज पनि यही विषयमा कन्सर्न राख्नुभयो । मैले जनरल कुरा राखेँ’ प्रधानमन्त्री दाहालले भन्नुभएको छ । एमाले अध्यक्ष ओलीले भने शरणार्थी प्रकरणमा कसैसँग पनि पूर्वाग्रह नराखी निष्पक्ष ढंगले छानविन र कारबाही हुनुपर्ने बताउनुभएको छ । शरणार्थी प्रकरणमा सरकारले राजनीतिक पूर्वाग्रह र प्रतिसोधको भावले एमाले पंक्तिकालाई मात्रै कारबाही गरेर माओवादी रु कांग्रेस पंक्तिकालाई जोगाउने प्रयत्न गरेको उहाँको भनाइ छ ।
प्रकरणमा पूर्वमन्त्री खाण तानिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत अप्ठयारो परेको छ । पूर्वमन्त्री खाण कांग्रेसभित्र सभापति देउवाको अत्यत्नै विश्वासिलो पात्र मानिनुहुन्छ । कतिपयले शरणार्थी प्रकरणमा खाण परे सभापति देउवा पत्नी डा आरजू राणा पनि तानिन सक्ने अनुमान समेत गरिरहेका छन् ।