काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सबै क्षेत्रको भ्रष्टाचार तथा अनियमितता निष्पक्ष छानविन गर्न माग गरेको छ । नक्कली शरणार्थी प्रकरण छानविन शुरु भएपछि एमाले सांसदहरुे प्रतिनिधिसभामा आइतबार सबै क्षेत्रको भ्रष्टाचारीमाथि कारबाही माग गरेका हुन् ।
बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानविन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । एमाले सचेतक गिरीले शरणार्थी प्रकरण प्रधानमन्त्रीले ‘यो त टेलर मात्र हो, फिल्म आउन बाँकी नै छ’ भन्ने अभिव्यक्ति दिएपछि त्यस चोटिलो जवाफ समेत दिनुभएको छ ।
प्रधानमन्त्रीले यो त टेलर मात्र हो, फिल्म आउन बाँकी नै छ भनेको सुनेको भन्दै उहाँले भन्नुभयो, ‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं । बाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको छानबिन गरौं ।’
एमाले सचेतक महेश बर्तौलाले पनि नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैमाथि छानविन तथा कारबाही हुनुपर्ने बताउनुभयो । ‘तर प्रधानमन्त्री आफैंले म छोड्दिनँ, हिँड्दा संशय पैदा भएको भन्दै उहाँले भन्नुभयोे– ‘कतै उहाँ पूर्वाग्रह राखेर सत्तापक्षसँग जोडिएकालाई उन्मुक्ति दिने र अन्य मान्छेहरुसँग पूर्वाग्रह साँध्ने दूषित मनसाय त छैन भन्ने देखिन थालेको छ ।’
एमालेका अर्का सांसद सूर्य थापाले दोषीलाई नछाड्न र निर्दोषलाई फसाउने काम नगर्न खबरदारी गर्नुभयो । ‘प्रधानमन्त्रीले मलाई दबाव छ भनेको कसलाई हो ?’ उहाँले भन्नुभयो – कसले दबाव दिएको हो संसदलाई जानकारी गराइयोस् । ‘मलाई प्युठानी जनताले टिकट काटेर पठाउनुभएको छ, क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फिल्म हेर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यू, त्यो फिल्म हेर्ने व्यवस्था अविलम्ब गर्नुस् ।’
एमाले सांसद थापाले बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको विगतको प्रकरण समेत कोट्टयाउनु भयो ‘म गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु, कमानसिंह लामा ठगी प्रकरणमा फिल्म हेर्न चाहन्छु । त्यो फिल्म हेर्ने व्यवस्था गर्नुस्’ उहाँले भन्नुभयो ।