काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको लागि छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता उपसभामुख र प्रधानन्यायाधीश सदस्य रहने प्रावधान छ। प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने कार्यसूचीमाथिको छलफलमा भने कानुन न्याय तथा संसदीय मामिलामन्त्री परिषद सदस्यको रुपमा रहने संवैधानिक व्यवस्था छ ।
सर्वोच्च अदालत लामो समयदेखि प्रधानन्यायाधीश विहीन छ । चोलेन्द्रशम्शेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश विहीन बनेको हो । चोलेन्द्रशम्शेरले पनि महाअभियोगकोकारण एक वर्ष निलम्बित अवस्थामै रहेर प्रधानन्यायाधीशबाट अवकाश लिनुभएको हो । चोलेन्द्रशम्शेको निलम्बनपछि सर्वोच्च कायम मुकायम प्रधानन्यायाधीशको भरमा चल्दै आएको छ । अहिले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ ।
संवैधानिक परिषदको बैठक बस्न नसक्दा प्रधानन्यायाधीश नियुक्ति प्रकृया अगाडि बस्न सकेको छैन । सर्वोच्च अदालत प्रधानन्यायाधीश विहीन हुँदा जटिल खालका रिट तथा मुद्धा फैसलामा समस्या भएको छ । नेपाल बार एशोसिएशन लगायतका निकायले प्रधानन्यायाधीश नियुक्तिको लागि सरकारलाई दबाब दिँदै आएको छ ।
लामो समय अन्योलमा रहेको संवैधानिक परिषद् बैठक यसअघि वैशाख ६ गते भएको थियो । तर त्यो बैठक प्रधानन्यायाधीश नियुक्ति प्रकृया अगाडि नबढाइ पछि फेरि बस्ने गरी निष्कर्षविहीन अवस्थामै टुंगिएकाे थियो ।प्रमुख प्रतिपक्षी दल नेता केपी शर्मा ओलीले संसदीय समिति गठनको विवाद नटुंग्याउँदासम्म प्रधानन्यायाधीश सिफारिस गर्न नहुने अडान लिएपछि बैठक निष्कर्षविहीन भएको थियो । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेपछि बैठक बस्न ढिलाई भएको हो ।
आज बस्ने बैठकमा भने प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने सिफारिस प्रकृया अगाडि बढ्न सक्ने परिषद्का एक सदस्यले जानकारी दिनुभएको छ ।