काठमाडौं । समसामयिक राजनीतिक परिस्थिति र आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न नेकपा एमाले सचिवालय आज बस्दैछ । प्रमुख प्रतिपक्षी एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा दिउँसो २ बजे बस्ने भएको हो ।
एमालेको केन्द्रीय सचिवालयमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाग र सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, महासचिवहरु प्रदीप ज्ञवाली, पृथ्बीसुब्बा गुरुग र विष्णु रिमाल, सचिवहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण बिष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल रहनुभएको छ ।
सचिवालय बैठकमा आसन्न केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायतका विषयमा छलफल हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभएको छ ।
एमालेले वैशाखको अन्तिम साता केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले केन्द्रीय कमिटी बैठक वैशाख २८ देखि ३० गतेसम्म झापामा राख्ने तयारी गरेको थियो । तर संसदमा बजेट अधिवेशन चलिरहेको कारण केन्द्रीय कमिटी बैठक फेरि काठमाडौंमा नै राख्ने निर्णय भएको एमालेले जनाएको छ ।