काठमाडौं । भुटानी शरणार्थी ठगी प्रकरणमा भइरहेको छानविन तथा कारबाही निष्पक्ष बनाउन सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आज देशभर प्रदर्शन गर्ने भएको छ ।
शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, खाणका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, रामशरण केसी र गोविन्द चौधरीसहित १२ जना पक्राउ परिसकेका छन् । एमाले सचिव रायमाझी भने पक्राउ पुर्जी जारी भए लगत्तै सम्पर्कविहीन अवस्थामा छन् ।
शरणार्थी प्रकरणमा थालिएको छानविन तथा कारबाही पूर्वाहरहित पार्नको लागि दबाब दिने उदेश्यले एकीकृत समाजवादीका भातृ संगठनले बिहीबार दिउँसो सबै जिल्ला प्रदर्शन गर्न लागेको हो ।
भ्रष्टाचारीहरुलाई कडाभन्दा कडा कारबाही गराउनका लागि जनदबाब सिर्जना गर्ने उद्देश्यले धर्ना तथा विरोध प्रदर्शन गर्न लागिएको एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा फाँटका प्रमुख डा विजयकुमार पौडेलले बताउनुभएको छ ।
एकीकृत समाजवादीले प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेको छ । एकीकृत समाजवादीले प्रदर्शन सशक्त पार्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएको छ । पार्टीका उपमहासचिव डा गंगा तुलधारले सर्कुलर जारी गर्दै विभिन्न तहका नेता तथा कार्यकर्तालाई प्रदर्शनमा जुट्न निर्देशित गर्नुभएको हो ।
भुटानी शरणार्थी ठगी प्रकरणमा एकीकृत समाजवादीले बुधबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको थियो ।