काठमाडौं । गठबन्धन सरकारका प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा दिगो विकासको लक्ष्य प्राप्तिको लागि वित्तीय संस्था र निजी क्षेत्रसँग सहकार्य आवश्यक पर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले शुक्रबार काठमाडौंमा आयोजित ‘ इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’ लाई सम्बोधन गदै सरकार वित्तीय संस्था र निजी क्षेत्रसँग साझेदारी गर्न उत्सुक रहेको बताउनुभयो । दिगो विकास लक्ष्य पूरा गर्नको लागि भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादनमा समन्वय हुनुपर्ने प्रधानमन्त्रीको भनाई छ ।
‘विकास लक्ष्य हासिल गर्ने हाम्रो प्रयासमा, हामीले महत्वपूर्ण लगानी आवश्यक पर्ने धेरै मुख्य क्षेत्रहरू पहिचान गरेका छौँ’ उहाँले भन्नुभयो– यी क्षेत्रहरूमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश छन्। साझा समृद्धिका लागि राष्ट्रको दिगो विकास लक्ष्यहरू हासिल गर्न हाम्रा प्रयासहरूसँग मिल्न हामीलाई निजी क्षेत्र र वित्तीय संस्थाहरूको समर्थन र साझेदारी चाहिन्छ।’
प्रधानमन्त्रीले सरकार विदेशी लगानी आकर्षित गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभयो । ‘हामी नविन, दिगो समाधानहरूमार्फत नेपालको लगानीको खाडललाई पूरा गर्न खोजिरहेका छौँ’ उहाँले भन्नुभयो – सरकार विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसरहरू सिर्जना गर्न हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिवद्ध छ। हामी हाम्रो विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारहरूसँग निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक छौँ।’
प्रधानमन्त्री दाहालले विश्वमा उदाउँदै गरेका नयाँ वित्तीय लगानीका अवधारणको खोजीमा सम्मेलन आयोजना हुनु निकै सान्दर्भिक भएको बताउनुभयो ।