भोजपुर । भौगोलिक रूपमा जिल्लाको विकट मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाको तीन स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।
गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका यहाँका तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले सडकसम्म विस्तार नभएको ओखरबोटे र याङ्माका स्थानीयलाई लक्षित गरेर वडा न ६ याङमा र थुम्लुङ भन्ने स्थानमा ती इकाई स्थापना गरेको हो ।
वडा नं ३ को तालखर्कमा पनि स्वास्थ्य एकाइ स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिनुभयो । एकाइ स्थापना गरेर तीन स्थानबाट सेवा थालिएको छ ।
६ वटा वडा रहेको यो गाउँपालिकामा वडा स्तरीय एक/एक वटा स्वास्थ्य चौकी भए पनि भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक सो एकाइ सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो ।
अन्य स्थानमा पनि स्थानीयको सहजताको लागि आवश्यकताको आधारमा स्वास्थ्य एकाइ स्थापना गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य एकाइ स्थापनासँगै दुर्गमका नागरिकलाई सहज सेवा दिन समय-समयमा शिविरको आयोजना गरेर स्वास्थ्य सेवा दिने गरेको अध्यक्ष कुलुङको भनाइ छ । निर्वाचित भएर आएपछि स्वास्थ्य, शिक्षासँगै यहाँको सडक, विद्युत्, पूर्वाधार लगायतको विकासमा योजनाबद्ध थालनी गरेको उहाँको भनाइ छ ।
“विविध समस्यालाई झेल्दै यहाँको बृहत्तर विकासमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “योजनाको प्राथमिकता निर्धारण गरेर योजनाबद्ध विकासमा ध्यान दिएका छौँ । पाँच वर्षमा यहाँका नागरिकले केही न केही विकासको अनुभूति गर्न सकुन् भन्ने हाम्रो लक्ष्य छ ।”
स्वास्थ्य एकाइ स्थापनाले बिरामी हुँदा सिटामोल तथा जीवनजल पाउन घन्टौं धाउनुपर्ने अवस्थाको अन्त्य भएको वडा नं ३ ताल खर्कका स्थानीय दिलकुमार राईले बताउनुभयो । स्वास्थ्य एकाइ स्थापनाले वर्षौंदेखि स्थानीयले भोग्दै आएको समस्याको अन्त्य हुनेमा आशावादी रहेको उहाँको भनाइ छ ।
“लामो समयदेखि स्वास्थ्य सेवामा समस्या भोग्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा नै स्वास्थ्य एकाइ सञ्चालन भएको छ । यही स्वास्थ्य परीक्षण गराउन पाउँदा खुसी लागेको छ । गाउँपालिकाले गरेको यो काम प्रशंसायोग्य छ ।”
सामान्य औषधि लिनसमेत घन्टौँ पैदल हिँड्नुपर्दा अकालमा ज्यान जाने अवस्था रहेको वडा ६ थुम्लुङका स्थानीय हेमराज राईले बताउनुभयो । बर्सात याम सुरु भएपछि यातायात सेवा पूर्णरुपमा बन्दा हुँदा झनै समस्या हुने गरेको उहाँको भनाइ छ । “ थुम्लुङ क्षेत्रमा स्वास्थ्यको असाध्यै समस्या छ”, उहाँले भन्नुभयो, “वर्षौंबाट यही समस्या भोग्दै आएका छौँ । यो भेगका मानिसलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्था थिएन । यहाँबाट गाउँपालिका केन्द्र चौकी डाँडा पुग्न नै छदेखि सात घण्टासम्म लाग्छ । बर्सात सुरु भएपछि यातायात सेवा ठप्प हुन्छ । अब भने सामान्य स्वास्थ्य उपचार र औषधि लिन अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।”