काठमाडौं । बालुवाटारमा आज संसद्मा विचाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल जारी छन् ।
सुरुमा प्रमुख दलका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलेको थियो ।
शीर्ष तीन नेताहरूको छलफलपछि दोस्रो तहका नेताहरू सहभागी भएर छलफल चलिरहेको छ । स्रोतका अनुसार अहिले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर थापा, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादीका हितराज पाण्डे थपिएका हुन्।
‘निकै सकारात्मक छलफल भएको छ। संसद्को बजेट अधिवेशन जारी छ, संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो,’ माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले भने, ‘संसद्का विषयगत समितिहरू गठन गर्न बाँकी छ, सत्य निरूपण सम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन। यिनै विषयमा छलफल भयो।’
बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा केन्द्रित छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।