काठमाडौं । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको ठगी प्रकरणमा नेकपा एमालेका निलम्बित नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । एमालेबाट निलम्बित रायमाझीलाई प्रहरीले पुर्जी जारी भउको ११ औं दिनमा पक्राउ गरेको हो ।
प्रतिनिधिसभा सदस्य तथा एमालेका निलम्बित नेता रायमाझीलाई प्रहरीले काठमाडौको बूढानीलकण्ठबाट आइतबार साँझ पक्राउ गरेको हो । रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
पक्राउ पुर्जी जारी भएको पहिलो दिनसम्म सम्पर्कमा रहेर रायमाझी भोलिपल्ट फरार हुनुभएको थियो । शरणार्थी प्रकरणमा रायमाझीविरुद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी अर्घाखाँचीमा कार्यक्रममा रहनुभएका रायमाझी त्यसपछि काठमाडौं जाने भन्दै हिडेर वैशाख २१ गतेदेखि रुपन्देहीबाट सम्पर्कविहीन बन्नुभएको हो ।
रायमाझीलाई पक्राउ पुर्जी जारी भएको ११ दिनमा प्रहरीले काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको हो । शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले वैशाख २० गते नै पक्राउ गरेर अनुसन्धान थालेको छ ।
शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझीलाई एमालेले पदबाट निलम्बन गरिसकेको छ । एमालेले सांसद रहनुभएका रायमाझीलाई पदबाट निलम्बन गर्दै कानुन पालना गर्न आग्रह समेत गरेको छ ।
प्रकरणमा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड यसअघि नै पक्राउ परिसक्नुभएको छ । शरणार्थी प्रकरणका आरोपी खाँडलाई कांग्रेसले भने अहिलेसम्म निलम्बन गरेको छैन । सभापति शेरबहादुर देउवाको विश्वासी पात्र मानिनु हुने खाँडको निलम्बनलाई लिएर कांग्रेसभित्र विवाद भइरहेको छ ।
शरणार्थी प्रकरणमा उपराष्टपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राईसहित पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।