काठमाडौं । नेपालको राजनीतिलाई लोकतान्त्रिक बाटोमा अगाडि बढाउन जननेता मदन भण्डारीको योगदान रहेको सम्बन्धित नेताहरूले बताएका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति र व्यवस्था परिवर्तनमा जननेता भण्डारीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालले ३०औं मदन–आश्रित स्मृति दिवसको अवसरमा एकीकृत समाजवादीले बुधबार पार्टी मुख्यालयमा आयोजना गरेको कार्यक्रममा २०४६ सालको आन्दोलनमा जननेता भण्डारीकै योजनामा सफल भएको धारणा व्यक्त गर्नुभयो । ‘नेपालको राजनीतिमा मदन भण्डारीको अत्यन्तै महत्पूर्ण भूमिका रहेको छ’ उहाँले भन्नुभयो– २०४६ साल पार्टीलार्ई परिचालन गरेर नेपाली कांग्रेससँग मिलेर आन्दोलन गर्ने निर्णय उहाँले गर्नुभएको थियो ।’
एकीकृत समाजवादीका अध्यक्ष नेपालले जननेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गरेर कम्युनिष्टहरुलाई लोकतान्त्रिक बाटोमा अवतरण गराएको स्मरण गराउनुभयो । ‘कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन, कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन मदन भण्डारीको महत्पूर्ण भूमिका छ’ उहाँले भन्नुभयो– कम्युनिष्टहरुले उहाँको योगदानलाई कहिल्यै बिर्सनु हुँदैन ।’
पूर्वप्रधानमन्त्री नेपालले जननेता भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटनामा भएको निधन मुलुक, राजनीति, लोकतान्त्रिक पद्धति र कम्युनिष्ट आन्दोलनकै लागि दुखद् भएको बताउनुभयो । ‘कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन र मुलुकमा लोकतान्त्रिक पद्धति स्थापित गर्न सक्रिय भइरहेकै बेला दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा उहाँहरुको निधन भयो, जुन देशको लागि, कम्युनिष्ट आन्दोलनको लागि र लोकतन्त्रकै लागि ठूलो क्षति हो ’ उहाँले भन्नुभयो– घटना सुन्ने बित्तिकै हामी स्तब्ध भयौँ, सिंगो पार्टी स्तब्ध भयो, देश स्तब्ध बन्यो । त्यसबेला हामीले भन्यौ अब स्तब्ध बनेर मात्रै हुँदैन , शोकलाई शक्तिमा बदल्नुपर्छ ।’