काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
भूटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको ठगी प्रकरणमा प्रहरीले अनुसन्धान तथा कारबाही थालेपछि एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध आन्दोलन थालेको हो । शरणार्थी प्रकरणमा प्रमुख दलका प्रभावशाली नेता नै मुछिन र प्रक्राउ पर्न थालेपछि अनुसन्धान तथा कारबाही निष्पक्ष बनाउन दबाब दिने उदेश्यले एकीकृत समाजवादीले दशैव्यापी प्रदर्शन गर्दै आएको छ ।
गठबन्धन सरकार टिकाउनु महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एकीकृत समाजवादीले शरणार्थी प्रकरणमा संलग्नहरूलाई हदैसम्मको कारबाही गर्न जनदबाबको लागि भ्रष्टाचारविरुद्धको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । समाजवादीको मोर्चा संगठनको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
शरणार्थी प्रकरणका दोषीलाई उन्मुक्ति नदिन मोर्चाले प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउने भएको छ । मोर्चाले आज केन्द्रमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने र विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत पठाउने भएको छ ।
शरणार्थी प्रकरणमा संलग्नहरूलाई पक्राउ गरेर सरकारले कारवाही अगाडि बढाए पनि शक्तिको दुरुपयोग गरेर उम्कन सक्ने सम्भावना रहेकाले सरकारलाई दबाब दिन आन्दोलन गर्नुको विकल्प नरहेको मोर्चा संगठनका प्रमुख डा विजयकुमार पौडेलले बताउनुभयो र भ्रष्टाचारी विरुद्ध खबरदारी गर्दै मोर्चाले आज दिेउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने भएको छ । मोर्चा प्रमुख पौडेलले शरणार्थी प्रकरणमा एकीकृत समाजवादीले सबभन्दा पहिले सडक आन्दोलन शुरु गरेको बताउनुभयो । शरणार्थी प्रकरणमा अन्य दल त्यसपछि मात्रै बोल्न बाध्य भएको उहाँको भनाई छ ।
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भुटानी शरणार्थी प्रकरण मानव बेचविखन सम्बन्धी जघन्य अपराध भएकाले दोषीहरूलाई उम्कन नपाउन भन्ने खबरदारी गर्न दबाबमूलक आन्दोलन जारी राख्नुपर्ने बताउनुभयो । ‘प्रकरणले अन्तराष्ट्रिय जगतमा राष्ट्रकै छविमा आँच पुगेकाले अपराधीलाई उम्कन नदिन पार्टीले आन्दोलन मार्फत ब्यापक दबाब सृजना गर्नुपर्ने उहाँको धारणा छ ।
एकीकृत समाजवादीक स्थायी कमिटी सदस्य एवं अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बास्कोटाले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध व्यापक आन्दोलन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । अर्का स्थायी कमिटी सदस्य एवं मोर्चा संगठन सहइन्चार्ज भविसोर पराजुलीले भ्रष्टाचारविरुद्ध देशव्यापी सशक्त आन्दोलन थाल्नु पर्ने बताउनुभएको छ ।