काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा पुगेको छ । प्रहरीले लामो अनुसन्धान गरी तयार पारेको शरणार्थी प्रकरण प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले दुई महिनाको अनुसन्धानपछि प्रतिवेदन सरकारी वकिल कार्यालयलाई हस्तान्तरण गरेको हो ।
अनुसन्धान अधिकृतहरुका अनुसार नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं रुपैयाँ असुल गर्ने कार्यमा ठूलै समूह सक्रिय रहेको पाइएको छ । संलग्न मध्ये ३२ जनालाई प्रतिवेदनमा दोषी ठहर्याइएको छ ।
प्रतिवेदनमा केहीलाई ठगी तथा संगठित अपराध र केहीलाई लिखतसम्बन्धी कसुर कीर्तेमा मुद्दा चलाउन सिफारिस गरिएको छ । केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिनुभएको छ ।
प्रकरणमा मुछिएका ३२ जनामध्ये १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् । थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना पीडितबाट कम्तीमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ ।
पीडितको उजुरीपछि प्रहरीले अनुसन्धानको लागि पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरी हिरासतमा राखेको छ ।
प्रकरणमा मुछिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन् । प्रहरण पक्राउ पुर्जी जारी भएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज लगायत भने फरार छन् ।