काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा जलहरी अभिव्यक्तिसहित नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ।
पशुपतिनाथ मन्दिरको जलहरी अभिव्यक्तिले रोकिएको प्रतिनिधिसभा बैठक निर्धारित समय भन्दा ढिलो शुरु भएको छ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी ओली नेतृत्वको सरकारको पालामा ‘पशुपतिनाथ मन्दिरमा पित्तलको जलरी हालेको’ आरोप लगाएपछि प्रतिनिधिसभाको शुक्रबारको बैठक रोकिएको थियो ।
माओवादी सांसद दाहालले प्रतिनिधिसभाको अघिल्लो दिनको बैठकमा ‘पशुपतिनाथ मन्दिरमा पित्तलको जलरी हालेको भन्दै एमाले अध्यक्ष ओलीमाथि भ्रष्टाचारको आरोप लगाउनुभएको थियो । त्यही विषयलाई लिएर एमालेका सांसदहरुले दाहालले माफी माग्नुपर्ने र आरोप युक्त भनाई संसदको रेकर्डबाट हटाउनुपर्ने अडान लिएपछि बैठक रोकएको हो ।
जलहरी प्रकरणले बैठक रोकिएपछि नीति तथा कार्यक्रम पारित गर्ने प्रकृया समेत ढिलाई भएको छ । जलहरी विवादले रोकिएको प्रतिनिधिसभा बैठक सूचारु गर्न शनिबार बिहान सत्ता र प्रतिपक्षका शीर्ष नेताहरुबीच छलफल भएको थियो। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सम्बोधनका क्रममा पशुपतिमा राखिएको जलहरीबारे प्रष्ट पार्ने सहमति भएको थियो । सहमति अनुसार बैठक शनिबार दिउँसो ४ बजेका लागि तोकिएको थियो । तर सहमति पछि पनि बैठक निर्धारित समयमा शुरु हुन सकेन । बैठकमा बोल्ने विषयमा कुरा नमिल्दा ढिलाई भएको हो । दिउँसो ४ बजेदेखि हुने भनिएको प्रतिनिधिसभा बैठक १ घण्टा ढिलो शुरु भएको छ ।
प्रधानमन्त्रीले नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको प्रतिनिधिसभा शुक्रबार नै जवाफ दिने योजना बनेको थियो । तर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी अभिव्यक्ति विवादको कारण प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि शुक्रबारको कार्यसूची आजको लागि सरेको हो ।
सरकारका जेठ ५ गते आर्थिक वर्ष २०८०, ०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रम सार्वजनिक भए लगत्तै सांसदहरुले त्यसको विभिन्न प्रश्न उठाएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्रप पार्टी (राप्रपा)ले नीति तथा कार्यक्रम पुर्नलेखन गर्न माग गरेको छ । कार्यक्रमप्रति असहमति जनाउँदै संघीय संसदमा २३ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । प्रतिनिधिसभामा २० र राष्ट्रियसभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएको हो । नीति तथा कार्यक्रम सार्वजनिक भए लगत्तै संघीय संसदमा त्यसबारे छलफल हुँदै आएको छ ।
सत्ता पक्षका सांसदहरुले नीति तथा कार्यक्रमप्रति समर्थन जनाएका छन् । प्रतिपक्षी सांसदहरुले भने नीति तथा कार्यक्रम समय सान्दर्भिक नभएको भन्दै विरोध जनाउँदै आएका छन् । प्रतिपक्षी सांसदहरुको असहमतिको बाबजुत राष्ट्रियसभाबाट भने नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ ।
प्रतिनिधिसभामा भने छलफल चलिरहेको छ । नीति तथा कार्यक्रमबारे सांसदहरुले विभिन्न प्रश्न उठाएका छन् । सांसदहरुले उठाएका ती प्रश्नका प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा जवाफ दिन लाग्नुभएको हो । प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम पारितको लागि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।