काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरीमा सुन भनेर पित्तल लगाएको र कोरोना भाइरस महामारीको समयमा स्वास्थ्य सामग्री खरिद गर्दा २ अर्ब रुपैयाँ भ्रष्टाचार भएको भन्ने नेकपा माओवादी केन्द्रका सांसदको अभिव्यक्ति संघीय संसदको अभिलेखबाट हटाइएको छ ।
प्रतिनिधिसभाको बैठक शनिबारको सभामुख देवराज घिमिरेले माओवादी सांसद लेखनाथ दाहालले बोलेका ती शब्द हटाउन निर्देशन दिनुभएको हो । ‘‘स्वास्थ्य सामग्रीमा दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु भन्ने शब्द संसदको अभिलेखबाट हटाउन निर्देश गर्दछु’ सभामुखले बैठकमा भन्नुभयो ।
प्रतिनिधिसभाको जेठ १० गते बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको पालामा भ्रष्टाचारका थुप्रै काण्ड भएको आरोप लगाउनुभएको थियो। ‘उहाँ (केपी शर्मा ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार’ उहाँले भन्नुभएको थियो-‘त्यति मात्रै होइन, पशुपतिनाथमा जलहरी लाउँदा सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु । यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’
दाहालको यो अभिव्यक्तिबाट ‘‘स्वास्थ्य सामग्रीमा दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु’ भन्ने शब्द संसदको अभिलेखबाट हटाइएको हो ।
एमालेले प्रमुख प्रतिपक्षी दलको नेतालाई गलत आक्षेप लगाइएको भन्दै त्यसलाई रेकर्डबाट हटाउनु र दाहालले संसदमा माफी माग्न पर्ने भन्दै शुक्रबार प्रतिनिधिसभाको बैठक अवरोध गरेको थियो ।नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बेलामा प्रमुख प्रतिपक्ष दल एमालेले बैठक अवरोध गरेपछि सरकारलाई अप्ठ्यारो परेको थियो ।
शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसमेत सहभागी प्रमुख तीन दलका प्रमुख सचेतकहरु समेतको बैठकमा ओलीमाथि लगाइएको आरोप सम्बन्धी शब्द हटाउने सहमति भएको थियो । त्यही सहमति अनुसार सभामुखले सांसद दाहालको ती अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको हो ।