काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरु र विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल गर्नुभएको छ ।
जेठ १७ गतेदेखि भारतको औंपचारिक भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री दाहालले आइतबार अपरान्ह सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुसँग सुझाव लिनुभएको हो ।
आफूले पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुसँग भारत भ्रमणबारे सुझाव लिएको प्रधानमन्त्री दाहालले बताउनु भयो। उहाँले राष्ट्रहितमा केन्द्रित भएर भारतसँग छलफल गर्न सुझाव दिएको बताउनुभयो ।
छलफलमा नेताहरुले भने राष्ट्रिय हितलाई सर्वोपरी ठानेर भारतसँग छलफल गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए । प्रवुद्ध व्यक्ति समूह (इपीजी) प्रतिवेदन ग्रहण गरेर अघि बढनुपर्ने विषयमा जोड दिन आफूले सुझाव दिएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो । उहाँले त्यसमा दुई मुलुकबीचको समस्या समाधान हुने कुरा उल्लेख गरिएकाले त्यसलाई ग्रहण गर्ने विषयमा भारत सहमत हुने गरी छलफल गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय हितमा दृढतापूर्वक उभिएर भारतसँग कुरा गर्न आफूले सुझाव दिएको पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बताउनु भयो । उहाँले इपिजी प्रतिवेदन बुझने कुरामा पनि भारतसँग जोड दिएर छलफल गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएको बताउनु भयो । उपमहासचिव ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग नेपालले उपयोग गर्न पाउने गरी छलफल गर्न पनि पार्टीको तर्फबाट सुझाव दिइएको बताउनभयो ।
राष्ट्रिय हितलाई सर्वोपरी ठानेर आत्मविश्वासका साथ भारतसँग आफ्ना धारणा राख्न प्रधानमन्त्रीलाई सुझाव दिइएको काँग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले बताउनुभयो। उहाँले विगतमा गरिएका समझदारीको कार्यान्वयन र व्यापार घाटा कम गर्ने विषयमा पनि भारतसँग गम्भिरतापूर्वक छलफल गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिनु भयो । प्रधानमन्त्री दाहालको जेठ १७ गतेदेखि भारतको औंपचारिक भ्रमण हुँदैछ ।