काठमाडौं । प्रतिनिधिसभा बैठकमा छलफल र बहस गर्नुपरे हाम्रा सांसदहरुको अनकनाउँछन् । तर्क र विचार भन्दा पनि पूर्ववक्ताले राखेको कर्मकाण्डी भाषण तानतुन पार्छन् । तर कुनै बिरोधका विषय निस्क्यो भने चाहिँ टेबल ठोक्न र वेल घेराउ गर्न तम्सिन्छन् । होहल्ला र हंगामा गर्न असाध्यै माहिर छन् । सोमबारको बैठकमा मुर्रा भैंसीको प्रसङ्गले एकछिन हंगामा नै चल्यो ।
बैठकमा ‘प्रधानमन्त्री भारतबाट फर्कदा भैँसी चढेर आएको’ भनेपछि बैठक केहीबेर अवरोध हुन पुग्यो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण र नागरिकता प्रमाणीकरणको सम्बन्धमा आफ्नो मन्तव्य राखेसँगै सांसदहरुलाई प्रश्न सोध्न दिइएको थियो । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट भैँसी चढेर आउनुभएको भन्ने धारणा व्यक्त गर्नुभएको हो ।
लगत्तै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसदहरुले नियमापत्ति जनाउँदै उठेक । सभामुखले प्रमुख सचेतक हितराज पाण्डेलाई आफ्नो धारणा राख्न समय दिएसँगै उहाँले संसदमा अमर्यादित शब्द प्रयोग भएको उल्लेख गर्दै त्यो शब्द संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।
पाण्डे लगायतका माओवादी केन्द्रका सांसदहरु उठेसँगसँगै विपक्षी दल एमाले, रास्वपा लगायतका सांसदहरु पनि उठिसकेका थिए । उनीहरुको कुरा थियो सांसद खनाल बोल्दाबोल्दै सत्तारुढ दलका सांसदहरुले बोल्न नदिएर नियम मिचेको भन्दै होहल्ला गरे । सभामुखले एमाले सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिनुभयो । थापाले सत्तारुढ दलका सांसदहरुले दादागिरी देखाएर प्रतिपक्षका सांसदलाई बोल्न नदिएको र प्रतिनिधिसभा नियमावलीको नियम मिचेको बताउनुभयो ।
त्यसपछि सभामुखले प्रश्न सोध्ने सांसदहरुलाई मर्यादामा रहेर प्रश्न गर्न र कोही सदस्य बोल्दै गर्दा अर्को सदस्यले प्रतिवाद नगर्न अनुरोध गर्दै प्रतिनिधिसभा नियमावली नियम २०(झ) प्रति सांसदहरुलाई आकर्षित गर्नुभयो । सभामुखको आग्रहपछि पनि सत्तापक्ष र प्रतिपक्षका सांसदहरु नबसेपछि सभामुखले प्रधानमन्त्री भैँसी चढेर आएको भन्ने शब्द रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिनुभएको छ।
त्यसपछि प्रतिपक्षी दलहरुको विरोध झनै चर्को भयो । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री स्वयंले संसदको रोष्टमबाट भैसी चढेर प्रशंग निकालेको भन्दै प्रधानमन्त्रीको शब्द पनि रेकर्डबाट हटाउन माग गर्नुभयो । रास्वपा सभापति तथा सांसद रवि लामिछानेले पनि प्रधानमन्त्रीले बोलेको शब्द पनि हटाउन माग गर्नुभयो । बैठक अवरोध जारी रह्यो । त्यसपछि सभामुखले भैँसी चढेर आएको भन्ने शब्द जसले बोलेको भएपनि रेकर्डबाट हटाउन निर्देशन दिएकाे बैठकलाई जानकारी गराउनुभयो । प्रधानमन्त्रीको नाम भने लिनुभएन । प्रतिपक्षी सांसदहरु प्रधानमन्त्रीको नामै लिएर शब्द हटाउन निर्देशन दिनुपर्ने मागमा थिए । बैठक अवरोध जारी रह्यो । लगत्तै सभामुखले प्रधानमन्त्री भारत भ्रमणबाट आउँदा भैसी चढेर आएको भन्ने शब्द संसद रेकर्डमा रहनु उपयुक्त नभएको पुनः ध्यानाकर्षण गराउनु भएको छ ।
यससँगै सबै सांसदहरु आ–आफ्नो सिटमा बसे । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यसूचीले निरन्तरता पायो । यसअघि बोल्दाबोल्दै रोकिन पुगेका रास्वपा सांसद शिशिर खनालले आफ्नो प्रश्नलाई पूर्णता दिन पाउनुभयो र सांसदहरुको प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रम क्रमशः अगाडि बढ्यो ।