काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधानको पालना गरेको बताउनुभएको छ ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेर संविधानको पालना गरेको बताउनुभएको हो ।
राष्ट्रपतिले संविधानको रक्षा गरेको भन्दै यादलले नागरिकको सन्तानलाई नागरिकता नदिएर अन्याय गरिएको पनि बताउनुभयो । उहाँले बजेटलाई सुधार नगर्ने हो भने देशको लागि नै दुर्भाग्य हुने र मुलुकमा द्वन्द्वको सिर्जना हुने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘संसदले दुई–दुई पटक पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले जुन प्रमाणीकरण गरे, राष्ट्रपतिले संविधानको पालना गरेका छन् । रक्षा गरेका छन् । नागरिकको सन्तानलाई नागरिकता दिन रोक्ने जुन कार्य भएको छ त्यो अन्याय भएको छ । गलत भएको छ । नहुने काम भएको छ । प्रधानमन्त्रीको भारत भ्रमण दुई देशको सम्बन्धलाई अगाडि बढ्ने एउटा अवसरको रुपमा भएको यो भ्रमण थियो । केही अगाडी बढ्यो धेरै कुरा अगाडि बढ्न बाँकी छ । बजेटलाई नसुधार्ने हो भने देशको लागि दुर्भाग्य हो । जनताले दुःख पाउँछन् । विकासको गति अवरुद्ध हुन्छ । र मुलुकमा हुनसक्ला द्वन्द्वको सिर्जना गर्छ ।’
नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेपाली बाबु–आमाका सन्तानलाई छिटोभन्दा छिटो नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘बाबु आमा नेपालीका सन्तानहरु ८ लाखको पीडा र वेदनालाई हामीले महशुस गर्नुपर्छ । छिटोभन्दा छिटो नागरिकता पाउने स्थितिको व्यवस्था गर्नुपर्छ ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता खारेज गर्नुपर्ने बताउनु भयो । उहाँले एकात्मक प्रणालीको विकल्पमा संघीयता हुन नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘संघीयता खारेज गर्नुपर्छ । नेपाल एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुनै सक्दैन । संघात्मक व्यवस्थाले चापेर नेपाली जनता उकुसमुकुस भएका छन् ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नागरिकता विधेयक संसदमा छलफल नगरी प्रमाणीकरण गर्नु गलत भएको बताउनु भयो । उहाँले अर्थतन्त्र कसरी बचाउने भन्नेमा नेताहरुले चिन्ता नगरेको टिप्पणी गर्नुभयो । उहाँले बजेट असफल भयो भने देश नै असफल हुने बताउनु भयो ।