काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ‘रिजल्ट’ असारको तेस्रो साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई रिजल्ट’ असारको तेस्रो साता निकाल्न तयारी गरिरेहेको छ ।
बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका (कक्षा १०) परीक्षा नियन्त्रक (विष्णुनारायण श्रेष्ठले विभिन्न केन्द्रमा परीक्षण भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।
बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि मुलुकभर ५१ केन्द्र तोकेको छ । ती केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेपछि केन्द्रमा पठाउनुपर्ने हुन्छ । सबै केन्द्रबाट उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटरमा प्रविष्ट गराइने नियन्त्रक श्रेष्ठले बताउनुभयो ।
गएको चैत १७ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा १२ हजार ८३ विद्यालयबाट ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्यीले एसईई) दिएका छन् । त्यसमध्ये २लाख ४२ हजार ७ सय १२ जना छात्रा र २ लाख ४२ हजार ६ सय ७४ छात्र छन्।
यस पटक नतिजा सार्वजनिक गर्दा अक्षराङ्कनसम्बन्धी कुन निर्देशिका अपनाउने भन्ने विषय भने अझै निक्र्योल भएको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष अक्षराङ्कनसम्बन्धी निर्देशिका संशोधन गरेर सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरेको छ ।
निर्देशिकाले ३५ भन्दा कम ल्याउनेलाई ‘नन ग्रेडेड’ भनेर कक्षा ११ मा भर्ना हुने बाटो बन्द गरेको छ । पुरानो निर्देशिकाले २० अङ्कभन्दा पनि थोरै ल्याउनेलाई ‘ई’ मानेर कक्षा ११ मा भर्नाको बाटो खुलाइदिएको छ ।
गत वर्ष भने संशोधित निर्देशिका अनुसार नतिजा सार्वजनिक गर्दा धेरै विद्यार्थी अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा पर्ने देखेपछि बोर्डले पुरानै निर्देशिका अनुसार नतिजा सार्वजनिक गरेको थियो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस पटक पनि पुरानो वा संशोधित कुन निर्देशिका अनुसार नतिजा सार्वजनिक गर्ने भन्ने विषयमा बोर्डले निर्णय गर्ने बताउनुभयो ।