काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संस्था ‘समाजवादी प्रेस संगठन, नेपाल’को प्रथम महाधिवेशन विवाहले ब्रेक भएको छ ।
नयाँ बानेश्वरस्थित अपर्ण ब्यांकेटमा आयोजना गरिएको प्रेस संगठनको महाधिवेशन उद्घाटन र विभिन्न प्रतिवेदनमाथिको छलफलपछि अन्य प्रकृया विवाहको कारण भोलि शनिबारको लागि तय गरिएको हो ।
प्रेस संगठनको महाधिवेशन अपर्ण ब्यांकेटको मुख्य हलमा शुक्रबार बिहानदेखि शुरु गरिएको थियो । तर ब्यांकेटमा दिउँसो ३ बजेपछि विवाह भोज गर्नुपर्ने भएकोले महाधिवेशनको बाँकी प्रकया शनिबारको लागि राखिएको हो । ब्यांकेटको दिउँसो ३ बजेपछिको समय विवाह भोजको लागि पहिल्यैदेखि बुक भएकाले महाधिवेशनको नेतृत्व छनोट प्रत्रिया शनिबार हुने संगठनका महासचिव भूपराज खड्काले जानकारी दिनुभएको छ । महासचिव खड्काका अनुसार महाधिवेशनको बाँकी प्रक्रिया शनिबार बिहान ८ बजेखि शुरु हुनेछ ।
प्रेस संगठनको महाधिवेशनमा ६५ जिल्लाका प्रतिनिधि र प्रवेक्षकसहित ४ सय भन्दा बढी सहभागी छन् । महाधिवेशन उद्ध्घाटन र प्रतिवेदनमाथिको छलफलपछि संगठनको नयाँ नेतृत्वको लागि निर्वाचन समितिले प्रकृया अगाडि बढाएको छ ।
समितिले कोशी, मधेश, बागमती, गण्डकी, लम्बिनी, कर्णाली तथा सूदुरपश्चिम प्रदेश र उपत्यका प्रतिष्ठान गरी ३ सय ७४ जनाको नामावली प्रकाशन गरेको छ । त्यस मध्ये सबै भन्दा धेरै उपत्यका प्रतिष्ठानमा ८८ र सबै भन्दा कम गण्डकीमा २२ जना छन् । संगठनमा सक्रिय भएका तर मतदातामा छुटेका प्रतिनिधिलाई दाबीको लागि निर्वाचन समितिले शनिबार बिहानसम्मको समय दिएको छ ।
महाधिवेशन पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभएको थियो । समापन पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गर्नु हुने संगठनले जनाएको छ ।