काठमाडौं । आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ । जेठ १५ गते सार्वजनिक भएको बजेटमाथि छलफलकाे क्रम सकिएकाे हाे ।
आज(साेमबार) अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले सांसदहरूले उठाएकाे प्रश्नकाे जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएकाे छ।
जेठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि जेष्ठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल शुरु भएको थियो । एक साता भएको छलफलमा भाग लिने सांसदहरुको धारणा मिश्रित आएको छ । केही सांसदहरुले समय अनुसार बजेट उपयुक्त आकार र प्राथमिकतासहित आएको प्रतिकृया दिएका छन् ।
कतिपय सांसदहरुले एउटै विषय नीति तथा कार्यक्रममा एक किसिमले आएको र बजेटमा अर्कै किसिमले आएको बताएका छन् । सांसदहरुले सबै निर्वाचन क्षेत्र र जिल्लामा समानुपातिक प्रणालीबाट बजेट विनियोजन नभएको भन्दै आपत्तिसमेत जनाएका छन् । पहुँचवाला नेता र मन्त्री भएको क्षेत्रमा विकास बजेट बढी छुट्याएको आरोप केही सांसदहरुको छ ।
त्यस्तै, केही सांसदहरूले बजेट प्रधानमन्त्री निर्वाचित हुनुभएकाे गाेरखा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकाे गृहजिल्ला डडेलधुरा र अर्थमन्त्रीकाे गृहजिल्ला नुवाकाेट केन्द्रित बजेट ल्याइएकाे आराेपसमेत लगाएका छन् ।
त्यस्तै प्रतिपक्षी दलका सांसदहरुलेबजेटले मुलुकमा विद्यमान अर्थतन्त्रका समस्या र चुनौती ठिक ढङ्गले पहिचान गरेर समाधानका उपायहरू अघि सार्न नसकेको, राजश्व संकलन लक्ष्य अविश्वसनीय रहेको बताएका छन् ।
सरकारले आगामी बर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैँयाको बजेट सार्वजनिक गरेको छ ।