काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेरै बजेटप्रति आपत्ति जनाउनुभएको छ ।
अध्यक्ष नेपालले एकीकृत समाजवादीको संसदीय दल टोलीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा प्रकाशरण महतलाई सोमबार भेटेर बजेटप्रति असहमति प्रकट गर्नभएको हो ।
पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्रीको निर्वाचन क्षेत्र गोरखा, अर्थमन्त्रीको गृह जिल्ला नुवाकोट र कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मात्रै बजेट खन्याइएको भन्दै आक्रोश व्यक्त गर्दै आउनुभएको छ ।
अहिलेकाे सत्ता गठबन्धन बनाउन र टिकाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका पूर्वप्रधानामन्त्री नेपालले बजेट संशोधन नगरिए सरकार ढल्न सक्ने चेतावनी समेत दिनुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालले पार्टी निकट पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठनको निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई तथा शुभकामना दिन सोमबार आयोजित कार्यक्रममा बजेटप्रति आफूहरुले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेरै असहमति जनाएको जानकारी दिनुभएको छ ।
‘गोरखा, नुवाकोट र डडेल्धुरालाई मात्रै बिशेष प्राथमिकता दिएर ल्याइएको अहिलेकाे बजेटप्रति हाम्रो असहमति छ’ कार्यक्रममा उहाँले भन्नुभयो– आज बिहान मात्रै हामीले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर बजेटप्रति आपत्ति जनाएका छौँ । हामीले प्रधानमन्त्री र अर्थमन्त्रीलाई बजेट यथास्थितिमा पास गर्न हुन्न, सकिन्न भनेका छौँ । भेटमा प्रधानमन्त्रीले हाम्रो संसदीय दललाई आश्वस्त पार्ने कोशिस समेत गर्नुभयो । तर हामी बजेट संशोधन गर्नुपर्छ भन्ने पक्षमा छौं।’
पूर्वप्रधानमन्त्री नेपालले मुलुकमा विभिन्न पटक राजनीतिक परिवर्तन भए पनि त्यसको अनुभूति नहुँदा जनतामा असन्तुष्टि बढेको उल्लेख गर्नुभयो । कार्यशैलीमा परिवर्तन नगरी अहिले अवस्थाबाट जनतालाई सन्तुष्ट पार्न नसकिने अध्यक्ष नेपालको भनाई छ । ‘मुलुकमा ठूलो राजनीतिक परिवर्तन भयो, गणतन्त्र ल्याइयो तर जनतामा यसको अनुभूति हुन सकिरहेको छैन, जनता सन्तुष्ट छैनन’ उहाँले भननुभयो– जनता असन्तुष्ट हुँदा समाजमा, राजनीतिमा अहिले दुई खालको परिभाष्य देखिन थालेको छ । एक थरीले व्यवस्था बदल्योअ, अब अवस्था बदल्नुछ भनिररहेका छन् , अर्को थारीले व्यवस्था नै बदल्नुपर्छ भनिरहेका छन् ।’
अध्यक्ष नेपालले गणतन्त्र जोगान चुनौति रहेको उल्लेख गर्नुभयो । ‘जनतामा राजनीतिक परिवर्तनको अनुभूति गराउन, गणतन्त्र जोगाउन अहिले ठूलो चुनौति बनेको छ’ उहाँले भन्नुभयो– गणतन्त्र कसरी जोगाउने ? आम समुदायलाई संघीयताप्रति कसरी सकारात्मक बनाउने ? ठूलो चुनौति छ । अहिले हामीले समाजवाद..समाजवाद भनिरहेका छौँ । के हो यो समाजवाद ? जनताले बुझ्न सकिरहेका छैनन् । समाजमा अझै अन्याय र अत्याचार छ, विभेद छ । मुलुकलाई समृद्धि पार्ने, सबै खाले विभेद अन्त्य गर्दै न्याय र समानतामूलक समाज निर्माण गर्नु नै समाजवाद हो । जनतालाई यसबारे बुझाउनु आवश्यक छ ।’
पूर्वप्रधानमन्त्री नेपालले परिवर्तनको आभाष दिलाउन एकीकृत समाजवादी सत्ता, सडक र जनता सबैमा केन्द्रित हुने बताउनुभयो । ‘सत्तामा छौं भन्दैमा सडक अरुलाई जिम्मा नि सक्दैनौँ’ उहाँले भन्नुभयो– सत्तामा बसेर पनि जनताको पक्षमा वकालत गछौँ । सरकारको नेतृत्व गर्नेहरुले सुनेनन् भने सडकमा जानुपर्ने हुन्छ । जनतामा जानुपर्ने हुन्छ ।’
अध्यक्ष नेपालले पार्टी निकट पत्रबारहरुलाई निश्पक्ष रुपमा सशक्त ढंगले कलम चलाउन सुझाव दिनुभएको छ ।