काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई कारबाही माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
द्वन्दकालीन दोष देखाएर प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईलाई कारबाही माग गरिएको रिट मंगलबार न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा सुनुवाइ भएको थियो । सर्वोच्चले सुनुवाइपछि कारण देखाउ आदेश जारी गरेको हो ।
दाहाललाई प्रधानमन्त्रीबाट निलम्बन गर्न समेत माग गरिएको रिट सर्वोच्चको आदेशपछि आइतबार दर्ता भएको हो । नेकपा माओवादीका अध्यक्ष रहनुभएका दाहाल र समाजवादी पार्टीका अध्यक्ष भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता गर्न सर्वोच्चले शुक्रबार आदेश दिएको थियो ।
माओवादी अध्यक्ष दाहाल र समाजवादीका अध्यक्ष भट्टराईविरुद्ध पूर्वलडाकूहरू लेनिन बिष्ट, कृष्णप्रसाद दंगाल, परमेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागर कुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईले रिट दर्ता गराउनुभएको हो । उहाँहरूले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबरजस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै दाहाल र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ता गराउनुभएको हो ।
रिटमा दाहाल र भट्टराईलाई युद्ध अपराधमा कारबाही गर्न अभियोजन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिएको छ । रिटमा प्रधानमन्त्रीबाट निलम्बन गर्न समेत माग रिएको छ । आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने रिट निवेदकहरूको माग छ ।