काठमाडौं। प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज (बिहीबार) बिहान हुनेभएको छ ।
समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई सुनुवाइका लागि बिहान ८ बजे बोलाएको छ । संसदीय समितिले बुधबार भएको उजुरीकर्ताहरुसँगको छलफलपछि कार्कीलाई सुनुवाइको लागि बोलाएको हो ।
समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीबारे उजुरीकर्ताहरुसँग हिजाे करिब २० मिनेटसम्म छलफल गरेको थियो। तर उजुरीको विषयमा छलफल हुन सकेन। त्यसपछि समितिले समय सकियो भन्दै उनीहरुलाई बाहिर पठाएको थियाे ।
कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई वैशाख २५ गतेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकिरहेको थिएन ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई २०७८ फागुन १ मा महाअभियोग लागेर निलम्बनमा परेपछि कार्की त्यसयता कामु प्रधानन्यायाधीश हुनुहुन्छ । जबराले निलम्बित अवस्थामै मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।
प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट ५-५ जना छन् । कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी सदस्य रहनुभएकाे छ ।
नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य रहनुभएकाे छ ।
माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा सदस्य हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शमशेर जबरा र जनता समाजवादी पार्टीको तर्फबाट प्रकाश अधिकारी सदस्य रहनुभएकाे छ ।