काठमाडौं । दुई दिनसम्म लगातार भएको अविरल वर्षाका कारण पूर्वी नेपालमा बाढीले विनास ल्याएको छ । हालसम्म २५ जना हराईरहेका छन् भने एकजनाको मृत्यु भएको छ ।
बाढीको सबैभन्दा ठूलो विनास संङ्खुवासभामा भएको छ । प्रहरीले दिएको जानकारी अनुसार सङ्खुवासभाको हेवाखोला किनारका सात घर बगाएको छ भने अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएका छन् । सोही ठाउँमा एकजनाको शव फेला परे पनि त्यसको पहिचान हुन सकेको छैन ।
त्यसैगरी, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोलेघर बगाउँदा एकै परिवारका तीनसहित चारजना बेपत्ता भएका छन् । पहिरोले स्थानीय यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् ।
मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको छ ।
पूर्वी नेपालकै पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बु, फिदिम नगरपालिका–५ का ५५ वर्षीय राजकुमार राई, हिलिहाङ गाउँपालिका–७ माझीटारका २८ वर्षीय आशिष माझी र सोही ठाउँकी २५ वर्षीया एलिसा माझी बेपत्ता भएका छन् ।
बाढीले हेवा खोलामा रहेका तीनवटा पक्की पुल र झोलुंगे पुल पनि बगाएको छ । मेची राजमार्ग अवरुद्ध छ भने उता भेडेटार निस्किने सडक पनि बन्द भएको छ ।