ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा साेमबार बिहान पहिरो जाँदा बाबु छोराको ज्यान गएको छ । एक जना घाइते भएका छन् । पहिरोमा परि केशरबहादुर राई र उहाँका छोरा सुरेश राईको ज्यान गएको हो ।
यस्तै, राजकुमार राई घाइते हुनुभएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता हुनुभएका केशरबहादुर मृत भेटिनुभएको र घाइते हुनुभएका सुरेशको उपचार लागि लैजाँदै गर्दा ज्यान गएको हो ।
घाइते राजकुमारलाई उपचारका लागि अस्पताल लैजान समस्या भइरहेको लिम्बूले बताउनुभयो । यस्तै, शनिवार राति गएको पहिरोमा परि बेपत्ता मेहेलेका एकै घरका तीन जना अझै सम्पर्कविहीन छन् ।
मेहेले भालुखोपका भगिमायाँ बुढाक्षेत्री, उहाँकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ज्वल बुढाक्षेत्री पहिरोमा बेपत्ता भएका हुन्। निरन्तर वर्षा भइरहेका कारण बेपत्ताहरुको खोजी गर्न समस्या भएको लिम्बूले बताउनुभयो । पहिरोमा बेपत्ता भएका मेहेले भालुखोपका गणेश तामाङको भने शव फेला परिसकेको छ ।
मेहेलेमा शनिवार बेलुकादेखि शुरु भएको वर्षा अझै रोकिएको छैन । यहाँका प्रायजसो सबै स्थानीय आफ्नो घर छाडेर अन्यत्र सरेका छन् तर सुरक्षित भनिएकै ठाउँमा पनि वर्षा भइरहेका कारण जोखिम रहेको स्थानीयले बताएका छन् ।
ताप्लेजुङको मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ । मेहेलेमा मात्रै पहिरोले छ वटा घरमा पूर्णरुपमा क्षति पुर्याएको छ ।