काठमाडौं । विश्वका शक्तिशाली मुलुक चीन र अमेरिकाबीच सम्बन्ध सुधारको प्रयास भएको छ । व्यापारमा र आणविकमा कुटनीति प्रतिस्पर्धामा रहेका यी दुई मुलुकबीच कोरोना भाइरस महामारीसँगै सम्बन्ध चिसिएको हो ।
चीनबाट उत्पन्न भएको कोरोनाले शुरुमा अमेरिका र बेलायतमा महामारीको रुप लिएपछि सम्बन्ध बिग्रिएको हो । यी दुई राष्ट्रको सम्बन्ध चिसिरहेकै बेला अर्को शक्तिशाली राष्ट्र रुस र युक्रेनबीच युद्ध भइरहेको छ । युक्रेनले रुसविरुद्धको युद्धमा अमेरिकासँग सहयोग मागिरहेको छ ।
त्यस्तै रुसले चीनसँग सहयोगको अपेक्ष गरिरहेको छ । तर चीन कहिल्यै युद्धको पक्षमा देखिएको छैन, शान्तिपूर्ण ढंगले विश्व व्यापारमा लम्किरहेको छ । चीनले रुस–युक्रेन युद्धमा मध्यस्थता गर्न इच्छा समेत देखाएको छ । यही अवस्थामा चीन र अमेरिकाको विदेशमन्त्रीबीच साढे ७ घण्टा भेटवार्ता भएको छ ।
भ्रमण तयारीको पाँच महिनापछि बेइजिङ पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले समकक्षी क्वीन गाङसँग गर्नुभएको हो । यो भ्रमण आपसी सम्बन्ध सुधारका लागि महत्वपूर्ण पहल हुने अपेक्षा अमेरिकी कूटनीतिज्ञहरूले गरेका छन् । दुई विदेशमन्त्री बीचको वार्ता निकै रचनात्मक ढंगले भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।
चिनियाँ विदेशमन्त्रीले वाणिज्य, शिक्षा तथा सांस्कृतिक सहकार्यबारे खुलेर कुरा राखे पनि ताइवान मामिलामा अनावश्यक हस्तक्षेप नगर्न विगतमाझैं चेतावनी दिएकोसमाचारमा उल्लेख छ । आइतबार बेइजिङ टेकेका ब्लिंकेनले अमेरिकाका लागि पूर्व चिनियाँ राजदूत समेत रहेका क्वीनसँग सरकारी आवासमा वार्ता गर्नुभएको हो । उनीहरूले साढे पाँच घण्टा वान–टु वान वार्ता गरेका थिए भने रात्रिकालीन भोजमा थप दुई घण्टा बिताएका थिए । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनयिङले विदेशमन्त्री बीचको लामो वार्ताले तनावरहित सम्बन्ध स्थापनामा सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको हो ।
समकक्षी ब्लिंकेनलाई क्वीनले चीन र अमेरिकाको कूटनीतिक सम्बन्ध सन् १९७९ यताकै न्यून विन्दुमा पुगेको बताउनु्भएको थियो । ताइवान मामिलामा अमेरिकी नीतिले दुई मुलुक बीचको सम्बन्धमा दरार पैदा गरेको उहाँले बताउनुभयो । ब्लिकेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटका लागि पहल गर्ने बताउनुभएको छ । आइतबार आ–आफ्ना एजेण्डामा अडिग रहेको वार्ताले केही उल्लेखनीय परिणाम निकाल्न सकेको छैन । मंगलबार हुने वार्ताको परिणामले सी र ब्लिंकेनबीचको भेटको निधो गर्ने बताइएको छ । सी र ब्लिंकेनको भेट सन् २०११ यता भएको छैन ।